२६ फागून

जुम्लाको पातारासी गाँउपालिकाबाट उपचारका लागि सदरमुकाम ल्याउँदा–ल्याउँदै बिरामीको बीचबाटोमै ज्यान जाने गरेको छ । शनिबार दिउँसो पातारासी ४ का धनबहादुर बुढालाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । ८२ वर्षीय बुढा दमका रोगी थिए । उनलाई दमले च्यापेपछि घरबाट बोकेर ल्याउँदै गर्दा उर्थुचौतारामा पुगेपछि एम्बुलेन्स कुर्दाकुर्दै बाटैमा निधन भएको उनका छोरा लालु बुढाले बताए ।

‘घरसम्म एम्बुलेन्स पुगेको भए बुवाले ज्यान मुमाउनु पर्ने थिएन,’ बुढाले भने,‘गाँउपालिकाको एम्बुलेन्स खोज्दा भेटिएन, प्रतिष्ठानको एम्बुलेन्स बोलाएका थियौँ । त्यो एम्बुलेन्स पुग्न समय लाग्यो । र समयमै प्रतिष्ठानमा पु-याउन नसकिएपछि बुवाको बाटामै मुत्यु भयो ।’

गाँउपालिकाका धेरैजसो आपत्कालिन बिरामीलाई घरायासी तथा प्राथामिक उपचारपछि स्टेचरमा बोकेर थप उपचार गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पु¥याउने गरिन्छ । कतिपय विरामीको समय ढिलाइका कारण बीच बाटोमै ज्यान गुमाउनु परेको स्थानीय महिला स्वास्थ्य स्वयमंसेविका मैया महताराले बताइन् ।

विरामी नबोकेरै एम्बुलेन्सले भाडा लियो

मृतक धनबहादुरलाई घरबाट स्टेचरमा बोकेर उर्थुचौतारा पु-याइयो । उनको उपचारका लागि प्रतिष्ठान लैजाने पारिवारिक निधोपछि त्यहीको एम्बुलेन्स बोलाए । एम्बुलेन्स आउन ढिलाई भएपछि उनको बाटोमै ज्यान गयो तर, एम्बुलेन्सले विरामी नबोकिकनै आफ्नो भाडा बुझेर फर्कियो ।