६ फागुन

धनगढी : प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट पद बहाली गरेको केही मिनेटमै सेती अञ्चल अस्पतालको आइसियुमा पुगे । प्रहरी टुकडीको सलामी खाएर पदबहाली गर्दै गर्दा स्वस्थ र फुर्तिलो देखिएका मुख्यमन्त्री अचानक सेती अञ्चल अस्पतालतिर लागेको खबर फैलियो । मन्त्रीसँगै प्रदेश सचिव लक्ष्मीराम पौडेल पनि अस्पतालतिर दगुरे ।

पदभार ग्रहण गरेको १० मिनेटभित्रमै कुनै गम्भीर रोगको उपचारका लागि मुख्यमन्त्री भट्ट अस्पतालको आकस्मिक कक्ष आइसियुमा पुगेका भने थिएनन् । उनी त स्वास्थ्य जस्तो संबेदनशील विषयलाई सुधारको पहल थाल्ने भन्दै मन्त्रालयबाट १५ मिनेटको दुरीमा रहेको अञ्चल अस्पतालमा छड्के निरीक्षणका लागि पुगेका थिए ।

अस्पताल निरीक्षणका क्रममा सुत्केरी बस्ने वार्डमा पुगेका मुख्यमन्त्री भट्टले उक्त वार्ड बिरामीमैत्री नभएको भन्दै मर्मत गर्न सुझाब दिए । मन्त्रीसँगै हिडिरहेका सेती अञ्चल अस्पताल प्रमुख डा.सजन केसीलाई उनले सुत्केरी बस्ने वार्डको एकापट्टीको भाग खुला रहेको भन्दै उक्त भागलाई छेक्न निर्देशन दिए ।

अस्पताल निरीक्षणका क्रममा दुबै मृगौला फेल भएर सिट नपाएका बिरामी तिलक भट्टका आफन्त गोपाल दत्त बढुले उनलाई उपचारको व्यवस्था मिलाइदिन आग्रह गरे । मुख्यमन्त्री भट्टले उनको कुरा सुन्दै आवश्यक पहल गर्न अस्पतालका प्रमुख डा.केसीलाई निर्देशन दिए ।

मुख्यमन्त्री भट्टले कर्मचारीलाई पार्किङ व्यवस्थित गर्न, अस्पताल हातामा सरसफाई गर्न, सरकारले दिएका औषधी दिन कुनै कञ्जुस्याई नगर्न र सुत्केरीको वार्डलाई ब्यवस्थित बनाउन निर्देशन दिए । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई दण्डित गर्ने बताउँदै उनी अस्पताल हाताबाट बाहिरिए । उनले यसरी नै हरेक निकायहरुमा नियमित ढंगले अनुगमनको कामलाई अगाडि बढाउने बताए ।