२८ माघ
हेटौंडा उपमहानगपालिकाले तिन नम्बर प्रदेशका सांसदलाई नगर विकाश समितिको स्वामित्वमा रहेको घडेरी सरकारी दररेटमै उपलब्ध गराउने निर्णयको विरोध गरेको छ।
विवेकशील साझा पार्टी प्रदेश नम्बर तिनका सांसद तथा प्रवक्ता रमेश पौड्यालले प्रेस विज्ञप्ती जारी गर्दैं उक्त निर्णयको विरोध गर्नुका साथैं उक्त पार्टीका सांसदले घडेरी सुविधा नलिने घोषणा गरेका छन्।
प्रदेश तिनमा विवेकशील साझाका तिन जना सांसद रहेका छन्।
विवेकशील साझाको प्रेस विज्ञप्ती यस्तो रहेको छ
नगर विकास समितिको स्वामित्वमा रहेको घडेरी जग्गा हेटौंडा उपमहानगरपालिकाले प्रदेश ३ का सांसदलाई सरकारी दररेटमै उपलब्ध गराइने बारेको समाचार प्रति विवेकशील साझा पार्टी प्रदेश ३ संसदीय दलको गंभीर ध्यानाकर्षण भएको छ।
प्रचलित बजार मुल्य भन्दा कैयौं गुना कम दररेटमा सरकारी स्वामित्वको जग्गा सर्वदलिय सहमतिमा सांसदहरुलाई उपलब्ध गराईने कुरा घुमाउरो हिसाबले भ्रष्टाचार नै हो भन्ने हाम्रो ठहर छ। विवेकशील साझा पार्टीका प्रदेश ३ का तीनै जना सांसदले यस्तो घडेरी सुविधा नलिने घोषणा गर्दछौं।
संघियता कार्यान्वयनको प्रारम्भिक चरणमा नै प्रदेश र स्थानिय तहमा देखिएका राज्यदोहनका यस्ता विसंगतिको विवेकशील साझा पार्टी कडा विरोध गर्दछ।








