मृतक अस्मित रिजाल।
२१ पुष
सिडनीमा नेपालीहरुको बाक्लो बस्ती मानिने अर्वन क्षेत्रमा नेपाली विद्यार्थी २३ वर्षिया अस्मीता रिजाल कोठामा मृत अवस्थामा भेटिएकी छिन्।
उनलाई पोष्टमार्टमको लागि हस्पिटलमा राखिएको छ। सिडनी प्रहरीले उनको आत्महत्या वा हत्या के हो त्यस बारे जानकारी दिएको छैन। पोष्टमार्टम पछि मात्र उनको बारेमा जानकारी आउने प्रहरीले राजदूतावासलाई बताएको अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले बताइन्।
ब्रिज बिजनेस कलेजवाट सर्टिफीकेट फोर गरेपछि इलाइट कलेजमा पढ्दै गरेकी रिजालले पढाइ पुरा गरेको भने देखिदैन। काठमाडौं बबरमहलकी रिजाललाई सोमबार राति कोठामा मृत अवस्थामा भेटिएको खबर प्राप्त भएको नेपाली राजदूतावासले जनाएको छ। ‘हामीले मृतकको परिवारसँग सम्पर्क स्थापित गर्ने प्रयास गरेका छौ, त्यसपछि के गर्ने भन्ने निर्णयमा पुग्नेछौ,’ राजदूत शेर्पाले भनिन्।
यसैबीच गत शुक्रबार सिड्नी विमानस्थलमा छोरी भेट्न आएकी नेपाली अभिभावक देबि कुमारी अधिकारीको बिमानस्थलमा मृत्यु भएको छ। छोरीको ग्राजुएसनको लागि भेट्न आएकी अभिभावक अधिकारीको बिमानस्थलमै स्ट्रोकका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।
उनको शवलाई ग्लीवस्थित शवगृहमा राखिएको छ। उनको शव नेपाल लैजान प्रकृया अगाडि बढाइएको छ ।
यसै गरी न्युक्यासल क्षेत्रको सिंगलटनमा तृप्ती पाण्डे नाम गरेकी नेपाली महिला मृत अवस्थामा भेटिएकी छिन्। उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । परिवारका साथ अस्ट्रेलिया बस्दै आएकी उनको दाहसंस्कार यतै गरिने भएको छ। सेतोपाटी वाट








