PM Sher Bahadur Deuba speaking at an election rally in Rukum, on Thursday, November 23, 2017. Photo: RSS

१७ मंसीर

महेन्द्रनगर । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओली चुनाव सरेको सपना देखेर त्रसित बनिरहेको बताएका छन् ।

‘उहाँ चुनाव सरेको सपना देखेको देख्यै हुनु हुन्छ । २१ गते भोट हालेपछि पनि चुनाव सर्छ, चुनाव सर्छ भन्नु हुनेछ,’ कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा शनिबार अपरान्ह आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘शेरबहादुरले चुनाव सार्नेछ, चुनाव सर्छ भनेको भन्यै हुनु हुन्छ । आजभोलि चुनाव सरेको सपना देख्या देख्यै हुनु हुन्छ, उहाँले । अब सपना देख्ने काम छैन ओलीजी ।’

एमाले र माओवादी एकदलीय कम्युनिस्ट शासन ल्याउन लागिपरेको देउवाले दोहोर्‍याए । ‘संविधान च्यातेर उनीहरु राष्ट्रपतीय एक व्यक्तिको पद्धतिमा जान्छु भन्दैछन्,’ देउवाले भने, ‘अहिले सबैलाई अधिकार दिइएको छ । राष्ट्रपतीय पद्धति त एक जनाको मात्र भइहाल्यो नि ।’