१३ मंसीर
प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सार्वजनिकरुपमा नै हिन्दु राष्ट्रको पक्षमा बोल्ने बताएका छन् । विश्व हिन्दु महासंघका पदाधिकारीले प्रधानमन्त्रीसँगको भेटमा हिन्दु राष्ट्र कायम नभए आन्दोलन गर्ने चेतावनी दिएपछि देउवाले त्यस्तो बताएका हुन् । देउवाको बचनपछि महासंघले निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका पक्षधरलाई मत हाल्न आफ्ना शुभेच्छुक र सदस्यलाई आह्वान गरेको छ ।
हामीले प्रधानमन्त्रीज्यूलाई बन्द कोठाभित्र होइन, सार्वजनिक समारोहमा हिन्दु राष्ट्रका पक्षमा बोल्न आग्रह गरेका छौँ, उहाँले म अब सार्वजनिकरुपमा नै बोल्छु भन्नुभएको छ’ महासंघका बरिष्ठ उपाध्यक्ष एवं संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले भने । देउवालाई उद्धृत गर्दै बास्तोलाले भने, ‘नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्रको बिपक्षमा छैन । म सार्वजनिकरुपमा नै बोल्न तयार छु ।’ महासंघ पदाधिकारीले सोमवार प्रधानमन्त्री देउवासँग र मंगलवार एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए ।
के भने ओलीले ?
महासंघ अध्यक्ष भरतकेशर सिंह, बरिष्ठ उपाध्यक्ष बास्तोला, महासचिव अस्मिता भण्डारीसहितको टोलीले हिन्दु राष्ट्र स्थापनाको माग गर्दै प्रधानमन्त्री देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यो साता भेटवार्ता गरेका थिए । ‘लोकतान्त्रिक र बामपन्थी गठबन्धन दुवैका शीर्ष नेतासँग हाम्रो दुई दुई चरण कुराकानी भयो, ओलीजीले पनि नयाँ सरकारले महासंघको भावनालाई सम्बोधन गर्दै अगाडि बढ्ने बचनबद्धता जनाउनुभएको छ’ बास्तोलाले भने, ‘चुनावी घोषणापत्रमा जे लेखिएको भए पनि सरकारको नीति बनाउँदा सल्लाह गर्छौँ भन्नुभएको छ ।’
बास्तोलाले माग सम्बोधन नभए आन्दोलन गर्ने जानकारी पनि गाएको बताए । ‘हामीले हिन्दु युवा बाहिनी निर्माण गरेका छौँ, ३५ जिल्लामा संगठन निर्माण भइसकेको छ भन्ने जानकारी पनि गरायौँ’ बास्तोलाले भने, ‘यो मुद्दा अहिले मात्र होइन, निर्वाचनपछि र त्इसपछि पनि जीवित हुन्छ भन्ने कुरा राखेका छौँ ।’








