३ मंसीर
धनगढी : प्रचण्ड पुत्र प्रकाश दाहालको निधनको खबरपछि प्रदेश नम्बर ७ को कञ्चनपुरमा रहेकी प्रकाश दाहालकी पत्नी बीना मगर दाहाल पनि केही बेरअघि काठमाडौं फर्किएकी छिन् । तीन वर्षको छोरा बोकेर बहिनी सीता मगरका साथ बिना काठमाडौं फर्किएकी हुन् ।
श्री एयरलाईन्सको पहिलो उडान (बिहान ९ः५५ बजे) बाट बिना काठमाडौं गएकी हुन् । उनलाई धनगढी विमानस्थल पुगाउन सुदूरपश्चिम क्षेत्रका प्रहरी प्रमुख एआईजी विजयराज भट्ट सहित आफन्तहरु विमानस्थल पुगेका थिए ।
बिनाको छोरालाई उनकी बहिनी सीता मगरले समातेकी थिइन् । बिना मलिन अनुहार बनाएर विमानस्थलको भिआईपी कक्षमा बसिरहेकी थिइन् ।
बिना कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा उमेदवार हुन् । उनले आफ्नो प्रचार प्रसारको सबै कामहरु छोडेर काडमाडौं लागेकी हुन् ।
माओवादी केन्द्रका केन्द्रीय नेताहरु पनि आजै काठमाण्डौं जाने तयारीमा छन् । माओवादीका स्थायी कमिटी सदस्यहरु नेपाल एयरलाईन्सको विमानबाट काठमाडौं आउँदै छन् ।








