२३ कार्तिक काठमाडौं,ओली र प्रचण्डको संयुक्त चुनावी सभा भने आगामी २९ गते गोर्खाबाट शुरु हुनेछ । गोर्खाका चार स्थानमा सभा आयोजना हुने वाम गठबन्धनका नेताहरुले बताएका छन् ।
वाम गठबन्धनबाट नारायणकाजी श्रेष्ठ र लोकतान्त्रिक प्यानलबाट डा. बाबुराम भट्टराई उम्मेदवार बनेकाले गोर्खाको विशेष चर्चा हुने गरेको छ ।
गोर्खापछि कात्तिक ३० गते स्याङ्जा र बाग्लुङमा संयुक्त चुनावी सभा हुनेछ । मंसिर २ गते झापाको दमकमा र ३ गते काँकडभिट्टामा सभा आयोजना गरिने छ ।
झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष ओली स्वयं उम्मेदवार छन् । झापाको क्षेत्र नम्बर १ मा माओवादी नेता राम कार्कीलाई सघाएको एमालेले अरु सबै क्षेत्र आफूले लिएको छ ।
यसैगरी ३ गते नै मोरङको विराटचोकमा, ५ गते रुपन्देहीको बुटवलमा र दाङमा, ७ गते सुर्खेत र दैलेखमा, ८ गते कैलाली र कञ्चनपुरमा तथा ९ गते पोखरामा चुनावी सभा गर्ने कार्यक्रम तय भएको छ ।








