१७ कार्तिक

काठमाडौं । टिकट वितरणको विषयलाई लिएर माओवादी केन्द्र काठमाडौंमा विवाद भएको छ ।

काठमाडौं क्षेत्र नम्बर ६ बाट टिकट नपाएपछि माओवादी केन्द्रका नेता हिमाल शर्माले इमानको राजनीतीले फेल खाएको बताएका छन् ।

पार्टीले काठमाडौं क्षेत्र नम्बर ६ मा पार्टीका नेता झक्कु सुवेदीलाई टिकट दिएपछि शर्माले इमानको राजनीतिले फेल खाएको बताएका हुन् । उनले  भने, “इमानको राजनीतिले फेल खायो, यसअघि पार्टीले सर्वसम्मत मलाई नै टिकट दिने भनेको थियो, पछिल्लो समयमा आएर ममाथि धोका भयो, वाम गठबन्धन भनेपछि जसलाई पनि जितिन्छ भन्ने पनि भयो, त्यसैले पार्टीले मभन्दा सिनियर नेतालाई टिकट दियो ।’’

उनले आफूले टिकट नपाएपछि शुभचिन्तकले विरोध जनाएको पनि जानकारी दिए ।

माओवादी र एमालेबीचको वाम गठबन्धनले उपत्यकामा माओवादीलाई ६ सिट दिएको छ । मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्रतिनिधिसभातर्फ माओवादीले काठमाडौंको १, ६, ८ र १० निर्वाचन क्षेत्र पाएको छ । काठमाडौं क्षेत्र नम्बर १ मा पूर्वगृहमन्त्री जनार्दन शर्माका भाइ अनिल शर्मा, ६ मा झक्कु सुवेदी, ८ मा उमेश स्थापित र १० मा हितमान शाक्यले टिकट पाएका छन् । त्यस्तैगरी ललितपुर ३ मा पार्टीकी प्रवक्ता पम्फा भुषालले  र भक्तपुर १ बाट मिलन सुवालले टिकट पाएका छन् ।