१५ कार्तिक सप्तरी- वाम गठबन्धनले सप्तरीका दुईदुई वटा प्रतिनिधिसभाका लागि सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै एमालेका जिल्ला युवा नेता मंगलबारदेखि आमरण अनशन बसेका छन्।

दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमाले बलियो पार्टी भएको क्षेत्रमा माओवादी केन्द्रलाई उम्मेदवारी दिएको भन्दै जिल्ला सदस्य दुर्गानन्द ठाकुर, अखिलेश झा, सलिम राइन मियाँ र अनेरास्ववियुका जिल्ला अध्यक्ष ललित रजकसहितले अनशन थालेका हुन्।

राजविराजस्थित नेकपा (एमाले) को जिल्ला पार्टी कार्यालयमा अनशन बसेका उनीहरुले एमाले सप्तरी र प्रदेश कमिटीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का लागि सर्वसम्मतरुपले सिफारिस पठाएको केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज सुमनराज प्याकुरेलले उम्मेदवारी पाउनुपर्ने माग गरेका छन्।

एमाले केन्द्रीय सदस्य प्याकुरेल क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारीमा थिए। तर यो क्षेत्रमा वाम गठबन्धनले माओवादी केन्द्रका अशोककुमार मण्डल (अमर) लाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ।

मण्डल यसअघि दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। एमालेका युवा नेताले भने प्याकुरेललाई यस क्षेत्रमा नदिइएकाले बाध्य भएर आफूहरु भोक हडतालमा बस्नुपरेको बताएका छन्।

राजविराजस्थित एमालेको पार्टी कार्यालयमा भोक हडताल बसेका उनीहरुले प्याकुरेललाई टिकट नदिएसम्म अनसन बसिरहने बताए।