९ कार्तिक वीरगन्ज : श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेसको साझा सांस्कृतिक धरोहरका रुपमा रहेको छठ पर्व बिहीबार सूर्य भगवान र छठी माताको पूजा आरधना गरी मनाइदै छ। कात्तिक शुक्ल पक्षको चौठी तिथीदेखि विधिीवत रुपमा सुरु हुने छठ पूजा सप्तमी तिथिसम्म चार दिन मनाइन्छ।
मंगलबारदेखि विधिवत रुपमा सुरु भएको छठ पूजाको दोश्रो दिन पन्चमी अर्थात् बुधबारका दिनदेखि ब्रतालुले निर्जला ब्रत सुरु गरेका छन्। छठको दोश्रो दिन पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ। खरना परेको बुधबार ब्रतालु गाईको गोबरले लिपपोत गरी चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी दिनभर उपवास बसेका थिए। बुधबार साँझ नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा माटोको नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुँको रोटी प्रसादका रुपमा पकाएका थिए। उक्त प्रसाद अर्थात् रसीआव रोटी चन्द्रोदयपछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि ब्रतालुहरुले प्रसाद ग्रहण गरेर बुधबार साँझदेखि निर्जला ब्रत सुरु गरेका हुन्।
छठीघाटमा चोखो माटोले बनाइएको पूजास्थल सिरसोता छेउमा बसेर ब्रतालुले छठी माता र सुर्य भगवानसँग जोडिएका पारम्परिक गीत गाउँछन्। त्यसपछि बिहीबार साँझ पख अस्ताउदै गरेका सूर्य भगवान र छठी मातालाई ब्रतालुले जलशायमा पसी बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा भएको नरिवल, भिजाएको केराउ, चामलको अक्षता, पातसहितको मूला लगायतका फलफुल र प्रसाद राखेर अर्घ (पूजा ) दिन्छन्। सूर्य अस्तपछि ब्रतालुहरु छठी माताको पारम्परिक गीत गाँउदै आ-आफनो घर फर्किन्छन्।
षष्ठीको भोलि पल्ट सप्तमी तिथिका दिन अर्थात् शुक्रबार बिहान झिमिसेमै ब्रतालु फेरि नुहाई धुवाइ गरी चोखो भइ पुजन सामाग्री र प्रसाद लिएर सूर्य नउदाउदै छठ घाटमा पुग्छन्।
सप्तमी तिथिका दिन बिहान सूर्य उदाउनु भन्दा पहिले नै ब्रतालुहरु सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद , फलफुल लिएर छठघाटको जलशायमा पस्छन् र सुर्य उदाउने क्रममा उनीहरुले सूर्य र छठीमातालाइ अर्घ दिन्छन्। सूर्यलाइ अर्घ दिएपछि छठघाटमै ब्रतालु महिलाले एक अर्काको नाकको टुप्पादेखि सिउँदो सम्ममा सिन्दुर लगाई दिन्छन्। त्यसपछि उनीहरु आ आफनो घर फर्किन्छन्। उदाउदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ।








