२५ असोज काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंसिर १० गतेको निर्वाचन सर्ने खुलासा गरेका छन्। यसअघि सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकसाथ मंसिर १० र १२ गते दुई चरणमा गर्ने निर्णय गरेको थियो। बुधबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले मंसिर १० गते हुने प्रदेशको निर्वाचन केही कारणले तलमाथि भएपनि मंसिर २१ गते हुने निर्वाचन कुनैपनि हालतमा नसर्ने प्रष्ट पारेका छन्।
५९ जना सदस्य रहने राष्ट्रिय सभाका सदस्यमध्ये ५६ जना निर्वाचित हुने र ३ जना प्रतिनिधि मनोनित हुने जानकारी दिँदै मन्त्री थापाले राष्ट्रपति र उप–राष्ट्रपतिको निर्वाचनको लागि कानुन बनिसकेकाले त्यसमा विवाद झिक्नु आवश्यक नहुने समेत प्रष्ट पारे।
‘राष्ट्रिय सभाको निर्वाचनको लागि एमाले र माओवादी केन्द्रले एक स्वरमा विरोध जनाइरहेका छन्,’ मन्त्री थापाले भने, ‘कांग्रेस वाम एकता देखेर टसको मस भएको छैन्, यस्ता पवित्र-अपवित्र गठबन्धन कांग्रेसले धेरै भोगिसकेको छ, हामीले यस्ता गठबन्धन पार गरेका छौं, अहिले गृहकार्य भइरहेको वाम गठबन्धन अप्राकृतिक छ, राष्ट्रपतीय प्रणालीमा उभिने आन्तरिक सहमति भएको सुनिँदैछ, यो लोकतन्त्र माथिको प्रहार हो।’








