२० असोज काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवामाथि सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रका मन्त्री हटाउन दबाब परेको छ ।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका अधिकांश सदस्यले प्रधानमन्त्री देउवालाई माओवादी मन्त्री हटाएर मात्र मन्त्रिपरिषद् बैठक डाक्न दबाब दिएका छन् । कांग्रेस अगुवाइको लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूले बुधबार सरकारलाई साथ दिने आश्वासन दिएपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यसम्पादन समिति बैठकमा नेताहरूले माओवादी मन्त्री हटाउन प्रधानमन्त्रीलाई दबाब दिएका हुन् ।

सरकारमा सामेल माओवादीले एमालेसँग चुनावी तालमेल तथा पार्टी एकीकरणसम्मको सहमति गरेपछि उसलाई सरकारबाट हटाउनुपर्ने विषयमा लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूबीच बुधबार छलफल भएको थियो । माओवादीलाई सरकारबाट हटाउँदा बहुमत कायमै रहने सुनिश्चितता रहेकाले निर्वाचन आयोगलाई जानकारी दिएर सरकार पुनर्गठनको गृहकार्यमा लाग्न कांग्रेस बैठकका सहभागीले देउवालाई सुझाएका थिए ।

माओवादी मन्त्री हटाउनुपर्ने दबाबपछि देउवा मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यमा लागेको स्रोतले जनाएको छ । स्रोतका अनुसार साना दललाई सरकारमा समेटेर मन्त्रिमण्डल पुनर्गठनको तयारीमा छन् । माओवादीलाई हटाएपछि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने तयारी देउवाको छ । आफ्ना मन्त्रीलाई बर्खास्त गरे माओवादीले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले दुई दिन चलेको कार्यसम्पादन समिति बैठकमा बोल्ने सदस्यले माओवादी मन्त्रीलाई हटाउन सुझाव दिएको जानकारी दिए । लोकतान्त्रिक गठबन्धनमा आबद्ध ६ दलमध्ये कांग्रेसको २०७, राजपा २५, लोकतान्त्रिक फोरम १८, राप्रपा १९, राप्रपा (प्रजातान्त्रिक) १८, संघीय समाजवादी फोरम १५ गरी कुल ३०२ सांसद छन् । केही साना दलको समर्थन रहेको तथ्यांकसमेत बैठकमा राखिएको थियो ।

कांग्रेसले आह्वानलाई औपचारिकता दिने

कांग्रेसले लोकतान्त्रिक विचार राख्ने सबै दललाई बृहत् लोकतान्त्रिक मोर्चामा एकताबद्ध हुन गरेको आह्वानलाई शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन गराउने भएको छ । प्र्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको कार्यसम्पादन समिति बैठकले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याई संविधान कार्यान्वयन गर्नुपर्ने समयमा राजनीतिक ध्रुवीकरणले लोकतान्त्रिक आन्दोलन नै खतरामा पुर्‍याउने निष्कर्षसमेत निकालेको छ ।

शान्ति प्रक्रियाले पूर्णता नपाएको, संक्रमणकाल जारी नै रहेको अवस्थामा वाम ध्रुवीकरणले संविधान कार्यान्वयनको अवसर गुम्ने खतरामा पुगेको कांग्रेस नेता केसीले बताए । लोकतन्त्र बचाउन कांग्रेसले लोकतान्त्रिक पक्षधरबीच चुनावी तलमेल गर्दै एकीकृत रूपमा जाने विषयमा कांग्रेस एकमत रहेको उनले जानकारी दिए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र संविधान कार्यान्वयनका लागि निर्वाचन सम्पन्न गर्न पनि लोकतान्त्रिक मोर्चा अपरिहार्य बनेको छ’, उनले भने ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here