७ असोज काठमाडौँ – संयुक्त विद्यार्थी संगठनले शिक्षा ऐन नवौँ संशोधन फिर्ता लिन माग गर्दै आज प्रदर्शन गरेका छन् । नवौँ संशोधनले शिक्षाको गुणस्तर खस्कने भएकाले फिर्ताको माग गर्दै आज रत्नपार्कमा प्रदर्शन गरेका हुन् । उनीहरुले अस्थायी शिक्षकलाई स्थायी बनाएर योग्य शिक्षक छनोट गर्न नसक्ने भई शिक्षाको गुणस्तर खस्कने भन्दै तत्काल फिर्ता लिन माग गर्दै दिउँसो प्रदर्शन गरेको संघीय विद्यार्थी फोरमका अध्यक्ष विवेक राईले जानकारी दिए ।

‘शिक्षा ऐन नवौँ संशोधन खारेज गर, शिक्षाको गुणस्तर कायम राख’ ‘बालबालिका शिक्षामाथि खेलबाड गर्न पाइँदैन’ जस्ता नारा लगाउँदै एक घण्टा प्रदर्शन गरेका थिए । ऐन संशोधनबाट योग्य उम्मेदवारलाई पाखा लगाउँदै अयोग्य शिक्षकलाई सिधै स्थायी बनाउने प्रयास गरिँदै छ भन्दै यसबाट लाखौँ बालबालिकाको शैक्षिक भविष्य अन्धकार हुने भन्दै आन्दोलन थालिएको अध्यक्ष राईले बताए ।

शुक्रबार सरकारले स्थायी शिक्षकका लागि ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतियोगिताबाट शिक्षक पदपूर्ति गर्नेगरी ऐन संशोधन गरेपछि विद्यार्थी आन्दोलित भएका छन् ।

उनीहरुले शुक्रबार कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारलाई संशोधन फिर्ता गर्न ज्ञापनपत्र बुझाएका छन् भने शिक्षा ऐन नवौँ संशोधन पनि जलाएका थिए ।