पर्वत, भदौ २६–पुख्र्यौली पेशाले हातमुख जोर्न धौँ–धौँ । स–साना टहराको बास । आकासे पानी पर्दा टहरा चुहिएर लत्ताकपडा र अन्नपात सबै भिज्ने । बालबच्चा जोगाउनै मुस्किल । यस्तै पीडा भोगेका बिहादी–१ बाच्छाका माझी परिवारमा खुशिको क्षण आएको छ ।
कमजोर आर्थिक अवस्थाले लामो समयदेखि कष्टपूर्ण जीबनयापन गर्दै आएका माझी परिवारले नयाँ घर निर्माणमा सहयोग पाएपछि दंग परेका छन् । जनता आवास कार्यक्रममार्फत १० घरपरिवार माझीले घर निर्माणका लागि सहयोग पाएपछि उनीहरु खुशी हुँदै अहिले धमाधम घर निर्माणमा कस्सिएका छन् ।
आफुहरुको पीडा देखेर सरकारबाटै घर निर्माणमा सहयोग भएकोमा खुशी लागेको दिपक माझीले बताए । ‘आफुले कमाएर घर निर्माण गर्ने धेरै परको कुरा थियो, दैनिक रुपमा नदीमा माछा मारेर परिवारको छाक टार्नै गरेका दिपकले भने–‘हाम्रो मर्म बुझेर सहयोग गरेकोमा धन्यबाद दिन्छु ।’
गत बैशाखदेखि घर निर्माण गर्न थालेका उनले आफुले पाउने तीन किस्ताको रकम पाइसकेको  वताएका छन् । अब छानो हाल्ने र झ्याल, ढोकाको काम बाँकी छ’ उनले भने–‘त्यसपछि ट्वाइलेट बनाउन थाल्छु ।’ घर निर्माण भएपछि जीवनयापनका लागि धेरै सहज हुने उनले बताए । ‘गतिलो बास नहुदा सधै चिन्तैचिन्ता थियो’ उनले भने ।
स्थानीय माझी बस्तीकी बिमला माझी पनि कम्ती खुशी छैनन् । ‘घर बनाउने सहयोग पाउदा धेरै खुशी छौ’ उनले भनिन्–‘टहरामा बस्नुपर्दा निकै सास्ती भोग्नुपरेको थियो ।’ उनले घर निर्माण गर्न पैसा दिएपनि बिहानदेखि कस्सिएर आफ्नो घर आफै निर्माण गर्न जुटेको बताइन् ।
दिपक र बिमलाजस्तै बाच्छाका रामबहादुर माझी, डिलकुमारी माझी, डिलकुमारी माझी क डिलबहादुर माझी, सपना माझी, राजमान माझी र टिका माझीले घर निर्माणका लागि सहयोग पाएका हुन । घर निर्माणमा सहयोग पाएका यी सबै परिवार जिर्ण टहरोमा बस्दै आएका थिए । ‘आफ्नो सम्पत्तिले पुरानो टहरो मर्मत गर्नसक्ने अवस्था पनि थिएन’ रामबहादुरले भने–‘अहिले बल्ल सरकार भएको अनुभुती भएको छ ।’ उनले बर्षौदेखि कष्टपूर्ण रुपमा बस्दै आएपनि गुनासो राख्ने ठाउँसमेत नपाएको बताए ।
बाच्छाका समाजसेवी सेवकनाथ आचार्यले जनता आवास कार्यक्रमले बास्तविक पीडितलाई समेटेको बताए । ‘माझीको पीडा देखिरहेका थियौ तर केही गर्नसक्ने अवस्था थिएनौ’ उनले भने–‘जनता आवास कार्यक्रम परेको जानकारी पाएपछि माझी बस्तीमा ल्याउन पहल गरे ।’
घर निर्माणका लागि उनीहरुले जम्मा कर कटाएर दुई लाख ३३ हजार रुपैयाँ पाउनेछन् । ीज्लल्ँ समन्वय समितिले घरको जग हाल्दा पहिलो किस्तादेखि निर्माण सम्पन्न गर्दासम्म जम्मा रकमलाई चार किस्तामा बितरण गर्ने ब्यवस्था मिलाएको छ ।

पहिलो किस्ता ५२ हजार, दोस्रो किस्ता ६३ हजार तेस्रो किस्ता ७३ हजार रुपैयाँ र चौथो किस्तामा बाँकी सबै रकम प्रदान गर्ने ब्यवस्था मिलाएको जिल्ला समन्वय समितिले जनाएको छ । चौथो किस्ता भने शौचालय निर्माणपछि मात्रै जिल्ला समन्वय समितिले उपलब्ध गराउनेछ ।
जिल्ला समन्वय समिति  मार्फत पर्वतका आर्थिक रुपमा बिपन्न र गरिब परिवारलाई एक सय वटा घर निर्माण गर्ने योजनाअनुरुप बताए । ‘धेरै गुनासो आएपछि म त्यहाँ पुगेको थिए, धेरै पीडा देखेपछि बाच्छाका माझी परिवारलाई आवास निर्माणमा प्राथमिकता राखेका हौ’ जोशीले भने ।
पर्वतको बिहादी–२ बाच्छा, महाशिला–६ फलामखानी, फलेबास–६ देबिस्थान, फलेबास–१ कार्कीनेटा, कुश्मा–२ खुर्कोट, कुश्मा–१३ खौलालाकुरी, कुश्मा–१४ आर्थरडाडाखर्क र मोदी–१ भुकताङ्लेमा गरी बिपन्नलाई एक सय वटा घर निर्माणका लागि जनता आवास कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।