२५ साउन- शिक्षक सेवा आयोगले लिने अस्थायी शिक्षकको आन्तरिक परीक्षामा फेल हुनेलाई पनि सुविधा दिन अर्थ मन्त्रालय सहमत भएको छ । शिक्षा मन्त्रालयले पठाएको अघिल्लो प्रस्तावमा असहमति जनाएको अर्थले पछिल्लो पत्रमा भने सहमति जनाएको हो । शिक्षाले साउन १६ मा अस्थायी शिक्षकको माग पूरा गर्न ऐन संशोधनका लागि अर्थसँग सहमति मागेको थियो । सोमबार अर्थले मन्त्रीस्तरीय निर्णय गरी असफल हुने शिक्षकलाई पनि सुविधा दिने प्रस्तावमा सहमति जनाएको हो ।

सहमतिअनुसार शिक्षा ऐन संशोधन भए अस्थायी शिक्षकले कार्यरत अवधिका आधारमा परीक्षामा अनुत्तीर्ण भए पनि सुविधा पाउने छन् । अर्थको सहमतिसँगै शिक्षा ऐन संशोधनको बाटो खुलेको छ । गत वर्ष संशोधित शिक्षा ऐनमा बढीमा २० वर्षसम्म काम गरेकालाई बढीमा ३० महिनासम्मको सुविधा दिने व्यवस्था छ । फेल भए पनि सुविधा दिनुपर्ने माग राखेर एक सातादेखि दुई जना अस्थायी शिक्षक भृकुटीमण्डपमा अनशनरत छन् ।

अर्थले स्थायी शिक्षकसरह औषधि उपचारबापत रकम सुविधा दिन भने अस्वीकार गरेको छ । अस्थायी शिक्षकलाई औषधि उपचार सुविधा दिँदा नजिर हुने भन्दै नमानेको हो । अर्थले शिक्षा मन्त्रालयलाई पठाएको सहमतिपत्रमा भनिएको छ, ‘स्थायीले पाएसरहको औषधि उपचारबापतको सुविधा रकम उपलब्ध गराउँदा सरकारी सेवामा यस्ता प्रकृतिका र करारमा ठूलो संख्यामा रहेका कर्मचारीले समेत यसरी नै औषधि उपचारबापत माग गर्न सक्ने नजिर हुने र राज्यलाई दीर्घकालीन आर्थिक भार पर्न जाने भएकाले हाललाई सहमति दिन नसकिने मन्त्रीस्तरीय निर्णय भएको छ ।’

शिक्षा मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले अर्थ मन्त्रालयको सहमतिसहित कानुन मन्त्रालयमा पठाइसकेको बताए । आयोगले भने परीक्षा केन्द्र निर्धारण गरिसकेको छ । धमाधम प्रश्नपत्र छपाइ गरिरहेको छ । अस्थायी शिक्षकले भने औषधि उपचार सुविधा पनि दिनुपर्ने र भदौ ३ को परीक्षा नसारेसम्म वार्तामै नबस्ने अडान यथावत् राखेका छन् ।