१५ साउन,कुश्मा पर्वत
पर्वत उद्योग बाणिज्य संघको मुख्य आयोजनामा “समृद्ध पर्वत, हाम्रो चाहना” भन्ने नाराका साथ शुरु भएको पश्चिमाञ्चल क्षेत्रीय औधोगिक व्यापार मेला एवं पाँचौ पर्वत महोत्सव–२०७३ ले ५९ लाख ४७ हजार ९ सय ३७ रुपैंया बचत गरेको छ । संघले माघ १३ देखि २२ सम्म आयोजना गरेको उक्त महोत्सवबाट १ करोड, १७ लाख १२ हजार ५ सय ८ रुपैंया आम्दानी भएको आज एक पत्रकार सम्मलेनको आयोजना गरि जनाएको छ । आम्दानी भएको मध्ये ८९ लाख ८३ हजार ५ सय ३३ रुपैंया उठिसकेको र २७ लाख २८ हजार ९ सय ७५ रुपैंया उठ्न बाँकी रहेको जनाइएको छ ।
त्यस्तै महोत्सव शुरु हुनु अघिदेखि सो अवधिभरमा ५७ लाख ६४ हजार, ५ सय ७१ रुपैंया खर्च भएको जनाएको छ । संघले स्टल निर्माण, मंच व्यवस्थापन, अतिथि सम्मान, कलाकार, पत्रपत्रिका, रेडियो तथा अन्य प्रचारप्रसार, होटल, टिकट, बजार साजसज्जा, विद्युत, जेनेरेटर, स्टेशनरी, बाजागाजा–वाद्यवादन, फूलमाला, साउण्टसिष्टम, सुरक्षा, विभिन्न विद्याका पुरस्कार लगायतकामा सो खर्च भएको पर्वत उद्योग बाणीज्य संघका अध्यक्ष हरीओम शर्मा लामिछानेले बताए ।
उनले भने–‘हामीले यस अघि पनि ४ वटा महोत्सव आयोजना गरेका थियौं तर ती सबै महोत्सवमा भन्दा यस पटक धेरै रकम बचत गर्न सफल भयौं । यो मेरो एकल प्रयासले होइन सबै व्यवसायी, कार्यसमितिका साथीहरुको सहयोगले नै सम्भव भएको हो ।’ उनले थपे–‘इच्छाशक्ति भयो भने रकम बचाउन सकिँदो रहेछ ।
यो बचतबाट कार्यसमितिको निर्णय अनुसार २५ लाख बराबरको खर्च नहुने गरि कोष निर्माण गर्ने र उक्त कोष वाट पर्वत जिल्लाका सवै क्षेत्रमा योगदान गर्ने संचार माध्यम लगायत सवैलाई पुरस्कृत गर्ने,उत्प्रेरणा गर्नका लागी खर्च गरिने वताउनु भयो । उक्त कोषमा अन्य क्षेत्रका व्यक्ति संघ संस्थाहरुले समेत साझेदारी गरि कोष वढाउने जानकारी दिए । संस्था कार्य समितिको वैठक वाट संयोजक तोकि व्यवस्थित रुपमा उक्त कोषलाई अगाडी वढाईने समेत जानकारी दिए ।
महोत्सव पर्यटकीय क्षेत्रको प्रवद्र्वन, ऐतिहासिक स्थलहरुको प्रचार प्रसार, जिल्लामा उत्पादित वस्तुहरुको प्रवद्र्धन, लोक संस्कृतिको संरक्षण, स्थानीय उत्पादन उद्योग, व्यापार र व्यवसायको विस्तार गर्दै प्रदेश नं ४ को मुख्य पर्यटकीय नगरी अन्र्तगत कुश्मा बजारलाई पनि स्थापित गर्ने उद्देश्यका साथ संचालन गरिएको थियो । महोत्सवको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।
यस्तै पत्रकार सम्मलेनमा आयब्याय बिवरण सार्वजनिक गर्दै संस्थाका बरिष्ठ उपाध्यक्ष तथा पर्वत महोत्सवका आर्थिक संयोजक गोपी अधिकारीले प्रधानमन्त्रीले आम पर्वतबासीको अगाडी राखेका चार वटा योजनालाई कार्यन्ययन काम भएको र अघिल्ला महोत्सवहरुमा भन्दा यो महोत्सवमा आर्थिक रुपमा संस्थाले निकै ठुलो फड्को मारेको बताए । उनले भने हामी सबैको ईच्छा शक्तीको कारण महोत्सव मात्रै होईन हाम्रो जिल्लाको बिकास पनि संभव भएको छ ।
पर्वत उद्योग बाणीज्य संघका अध्यक्ष हरीओम शर्मा लामिछानेको अध्यक्षता तथा स्वागतमा भएको पत्रकार सम्मेलनमा आर्थिक आयब्याय बारे आर्थिक संयोजक गोपी अधिकारी तथा पत्रकार सम्मेलनको सञ्चालन संस्थाका महासचिव ठाकुर बि। पौडेलले गरेका थिए।
त्यस्तै पर्वत जिल्लामा संचालन भएका अन्य महोत्सवहरु घरेलु तथा साना उद्योग महासंघ द्धारा संचालित कफि लप्सी महोत्सवको हाल सम्म पनि के कति आम्दानी भयो सार्वाजनिक गरिएको छैन् । तत्कालिन अवस्थामा महोत्सव संपन्न भएको एक हप्तामा हिसावकिताव सार्वाजनिक गरिने आयोजकले प्रतिवद्धता व्यक्त गरेका थिए तर हाल सम्म पनि सार्वाजनिक गरिएको छैन । त्यस्तै रेडियो दिदि वहिनीले हरेक वर्ष आयोजना गर्ने महोत्सवको समेत हिसावकिता सार्वाजनिक गरिएको छैन । तर पर्वत उद्योग वाणिज्य संघले यस पाचौ महोत्सवमा हिसावकिताव सार्वाजनिक गर्दै सोचे अनूरुप रकम वचत भएको जनाएको छ ।








