९ साउन,काठमाडौं । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ अस्पताल भर्ना भएका छन् । आइतबार संसद बैठकमै चक्कर आयो भनेका नेता नेम्बाङको स्वास्थ्यमा समस्या आएपछि मोडल अस्पताल भर्ना भएका हुन् ।

विहान नेता नेम्बाङलाई रिंगटा लाग्ने र बान्ता हुने क्रम नरोकिएपछि अस्पताल लगिएको पार्टी कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले हाम्राकुरालाई जानकारी दिए । विहान अस्पताल भर्ना गरेपछि केही सुधार आएपछि अपरान्हतिर फेरि बान्ता भएका कारण अस्पतालमै राख्नु परेको उनले बताएका छन् ।

पूर्व संविधानसभा अध्यक्ष समेत रहेका नेम्बाङलाई क्याविन नम्बर ९ मा राखिएको छ । श्रेष्ठले आफु अपरान्हतिर भेट्न जाँदा बसेर बोल्न सक्ने अवस्थामा नरहेको र स्थिर भई सुतेर बसिरहेको देखेको बताए । नेम्बाङलाई डा. आरडी जोशीले हेरिरहेका छन् ।

श्रेष्ठका अनुसार, ‘नेम्बाङलाई प्रेसर र सुगरको समस्या छ । मधुमेहको मात्रा एक्कासी बढेपछि अस्वस्थ हुनु भयो ।’ चिकित्सकले बेलुकी घर लाँदा हुन्छ भन्नु भएको थियो तर, दिउँसो फेरि बान्ता भएपछि अहिले चिकित्सककै निगरानीमा राख्ने भन्ने कुरा भएको छ । यस्तै, अस्पतालमा नेम्बाङलाई भेट्नेको भीड बढ्न थालेपछि भेट्नेलाई धेरै बेर नराख्न र क्यविनमा भीन नपार्न भनेको उनले बताएका छन् ।

नेम्बाङ अस्पताल भर्ना भएको आफुले पहिलो पटक थाहा पाएको बताएका सचिव श्रेष्ठले भने, ‘अहिले हाम्रो संसदीय दलको नेता बाहिर जानु भएको छ । उहाँलाई कार्यवहाक संसदीय दलको नेताको जिम्मेवारी दिइएको छ । दौडधुप र खानपिन मिलेन । यसरी अस्पतालै भर्ना हुनु भएको त थिएन ।’ उमेरले पनि अब बुढो हुनु भयो ।