१६ फागुन
पर्वत । माता पार्वती जन्मिएको विश्वास गरिएको पार्वतको पाङलाई पार्वती धामको रूपमा विकास गर्न पर्वतवासीले अभियान थालेका छन् ।
पार्वती पाङमै जन्मिएकी हुन् भन्ने पुराणमा समेत यसको उल्लेख भएकाले पाङलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्न विभिन्न प्रयासहरू हुँदै आइरहेका छन् । पार्वती ध्यानमा बस्ने गरेको पार्वती गुफा, स्नान गर्ने गरेको सहस्र धारा, खेल्ने गरेको मैदानलगायतका ठाउँ पाङमै रहेकाले यसको प्रचारप्रसार गर्न आवश्यक रहेको पाङवासीहरुले बताउँदै आएका छन् ।
अभियानअन्तर्गत शनिवार पाङमा भएको सभामा संस्कृतिविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। जगमान गुरुङले पाङमा फेला परेका विभिन्न पुरातात्विक वस्तुहरूले पार्वती पाङमै जन्मिएको भन्ने कुरा पुष्टि गर्नमा सघाउने बताए। ‘माटोको माला र ढुङ्गाको सियो फेला परेको छ । त्यसको अध्ययन भएको छैन । यसको रेकर्ड पुरातत्व विभागमा छैन । संग्रहालय बनाएर ती सामग्री राखिनुपर्छ,’ उनले भने, ‘गुफामा भेटिएका विभिन्न सामग्रीहरूबारे पुरातत्व विभागमा जानकारी गराएर अनुसन्धान गर्न लगाएमा यस ठाउँको प्रवर्द्धन हुनेछ।’
गुफामा भेटिएको प्राचीन मूर्ति प्रस्ट रूपमा महिलाको भएको र त्यो पार्वतीकै हो भन्ने विश्वास गर्न सकिने आधार पनि रहेको उनले बताए । पाङलाई पार्वती धामको रूपमा विकास गर्न सकेमा नेपालबाहिरका मान्छे समेत सहस्र धारा र पार्वती गुफामा साधना गर्न आउने डा गुरुङको भनाइ छ ।
संविधान सभाका सदस्य अर्जुन प्रसाद जोशीले धेरै पछि पार्वतीको जन्मस्थल खोजि गर्दै पाङ,खुर्कोटवासी एकजुट भएकोमा खुशी व्यक्त गर्नुभयो । यस्तै धर्मसंस्कृतिले संसारलाई चिनाउने वताउनु भयो । पार्वतीको जन्मभुमिको विषयमा कहिकतै विवाद नभएको वताउदैे पार्वतीको जन्मथलो यहि पाङनै हो भन्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस पर्वतका पुर्व पार्टी सभापती नवराज गुरुङ,कुश्मा नगरपालिकाका उप प्रमुख सीताकप्ले लामिछाने,जलजला गाउंपालिकाका अध्यक्ष यम वहादुर मल्ल (रामकृष्ण ),विश्व हिन्दू महासंघ नेपालका केन्द्रिय अध्यक्ष डा रामचन्द्र अधिकारी,एनआरएनएका अध्यक्ष कुमार पन्त,पुर्व उउपाध्यक्ष कुल आचार्य,कालिगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण,कर्मयोग पिठ नेपालका अध्यक्ष योगि पिताम्वर,डा षडानन्द पौडेल,कुश्मा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष यदुनाथ शर्मा वास्तोला,२ का वडा अध्यक्ष देवेन्द्र सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कुश्मा नगरपालिका वडा नं. २ विश्वहिन्दू सांस्कृतिक संघका अध्यक्ष कृष्ण प्रसाद रिजालको अध्यक्षता र स्वागत विश्व हिन्दू विश्वहिन्दू सांस्कृतिक संघ वडा नं. २ का अध्यक्ष राम प्रसाद वास्तोलाले गर्नु भएको थियो । कार्यक्रमको संचालन लोकदोहोरी गायक कृष्ण समिप सुवेदीले गर्नु भएको थियो ।