फागुन १४
पर्वत । पुन यूवा क्लव पर्वतले ३९ औँ मगर दिवशको अवसरमा आयोजना गरेको दोस्रो राष्ट्रिय मगर महोत्सवको तयारी ९० प्रतिशत पुरा गरेको छ । महोत्सवका लागि आवश्यक स्टल निर्माण, खेलकुदको मैदान निर्माण, मञ्च निर्माण, विभिन्न खालका आयोजक समिति परिचालन, प्रचारप्रसार र निमन्त्रणा लगायतका व्यवस्थापकिय कार्यहरु लगभग पुरा भएको हो ।

बिहिबार पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवको अहिले सम्मको तयारी र महोत्सव अवधिभर हुने मूख्य कार्यक्रमहरुको बारेमा जानकारी दिएको छ । पुन यूवा क्लवका अध्यक्ष कृष्ण पुनले पत्रकार सम्मेलनमा दोस्रो राष्ट्रिय मगर महोत्सवमा २ सय स्टल बुकिङ भएको जानकारी दिनुभयो । खुल्ला पुरुष भलिवलमा १० देखि १२ टोलि आउने अनुमान गरिएको आयोजकले जनाएको छ । मगरहरुको सांस्कृतिक नृत्यका ४ टोलि दर्ता भएको जानकारी दिईएको छ ।

बिधालय स्तरिय प्रतियोगितामा १० टोलि सहभागिताका लागि दर्ता भैसकेको पुनले बताउनुभयो । उहाँले महोत्सवमा सुरक्षाको लागि प्रसाशन संग निरन्तर छलफल गरि आवश्यक व्यवस्था भैसकेको बताउनुभयो । कार्यक्रम स्थलमा सुरक्षाका लागि ८ वटा सिसि क्यामेरा जडान गरिएको पनि पुनले बताउनुभयो । कोभिडका कारण मास्क र सेनिटाइजर अनिवार्य गरिने जानकारी गराउनु भयो । महोत्सव स्थलमा ड्रममा पानी र साबुनको व्यवस्था गरिने भएको छ ।

महोत्सव प्रबेशका लागि सर्वसाधारणलाई ८० रुपैयाँ को टिकट काट्नुपर्ने भएको छ । यस्तै बाल उद्यान, रमाईलो खेल सहित अन्य रोचक कार्यक्रम पनि सञ्चालन हुने भएका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती महोत्सवका आकर्षण हुन । स्थानिय खानाका परिकार खुवाउने गरि खानाको स्टल समेत आयोजकले राख्ने भएको छ । महोत्सवमा भीडभीड हुने भएकाले अलग्गै पार्किङ ब्यबस्थापन हुने भएको छ । महोत्सव फागुन १५ गते देखि २५ गते सम्म आयोजना हुँदैछ ।

स्थानीय उत्पादनको विक्री वितरण, प्रवर्दन र प्रचार प्रसारमा पनि मगर महोत्सव सफल हुने आयोजकले अपेक्षा लिएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ वडागाउंमा रहेको खेलकुद मैदानमा महोत्सव संचालन हुने जनाईएको छ ।