१३ फागुन

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक बिहीबार दिउँसो बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा कुराकानी हुने पौडेल जानकारी दिए । उनका अनुसार पार्टीको आगामी १४ औं महाधिवेशनका बारेमा पनि कुराकानी हुनेछ ।

बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने छन् । बैठकमा पछिल्लो घटनाक्रमले कांग्रेसभित्र ठूलो जिम्मेवारी आइपरेको छ ।

सर्वोच्च अदालतले संसद ब्युँताइदिएपछि अब सत्ता समीकरणका बारेमासमेत पनि कांग्रेसलाई ठूलो अवसर आएको छ ।

झण्डै दुई तिहाई बहुमतको नेकपा आपसमा फुटेर असमझदारी बढेसँगै कांग्रेसलाई सहभागी गराएर सत्ता चलाउने रणनीतिमा नेकपाको प्रचण्ड–नेपाल समूह तथा ओली समूह लागेको छ ।

त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि सत्तामा जानका लागि आतुर देखिएको छ । यो अवस्थामा कांग्रेसकै नेतृत्वमै पनि सत्ता समीकरण बनाउने सहमतिका लागि आफूहरु तयार रहेको भनी बुधबार प्रचण्ड–नेपाल समूहले प्रस्ताव गरिसकेको अवस्थामा कांग्रेसमाथि ठूलो निर्णयको आवश्यकता रहेको छ ।

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पनि देउवालाई नेतृत्व दिएर सत्ता समीकरण मिलाउन सकिने गरी यसअघि नै तयारी गरेको चर्चा समेत चलेको छ ।

पार्टीभित्रै पनि अहिले कांग्रेस छोटो समयका लागि सत्तामा जान नहुने बताइएको छ । कम्युनिष्टहरुसँग मिलेर जानुभन्दा पार्टीको १४औं महाधिवेशनलाई सफल पारी आगामी निर्वाचनमा दुई तिहाईकै मत ल्याउने गरी जनतामा जान पनि माग भइरहेको छ ।

यो परिस्थितिबीच कांग्रेस संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले ‘बोल्ड डिसिजन’ गर्नुपर्नेमा जोड दिइएको छ ।

तर ज्योतिषी विद्यामा विश्वास गर्ने देउवालाई ‘सात पटक प्रधानमन्त्री हुने योग छ’ भनेका भरमा पाँचौं पटक प्रधानमन्त्री बन्न आतुर देखिएको विश्लेषणसमेत हुने गरेको छ ।

ओलीलाई फाल्नुपर्ने अवस्थामा सत्ता साझेदारी गर्न सकिने तर देउवाले नेतृत्व लिन नहुने तर्क पनि गरिएको छ ।

पदाधिकारी बैठक भए पनि अन्तिममा निर्णय गर्ने देउवाले नै भएकाले यसपालि स्मरणीय बोल्ड डिसिजन गर्ने अपेक्षा गरिएको छ । अहिले सत्ताको नेतृत्व गर्दा आगामी प्रतिनिधिसभाको नियमित निर्वाचन गर्दा पार्टीलाई फाइदा पुग्ने तर्कसमेत गरिएको छ ।

गत मंगलबार सर्वोच्च अदातलते प्रतिनिधिसभा ब्युँताएपछि १३ दिनभित्र प्रतिनिधिसभा बैठक बस्नेछ । संसद बस्नासाथ सत्ता परिवर्तनको प्रक्रिया अगाडि बढ्ने भएकाले देउवालाई सत्ताको नेतृत्व गर्ने ठूलो अवसर आएको छ ।

तर २०७४ को निर्वाचनले कांग्रेसलाई प्रतिपक्षकै हैसियतमा राखेकाले पार्टी संगठनलाई जोड दिनुपर्ने आवाज उठिरहेको छ ।