२ फागुन

सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई फागुन २ गते (आज) देखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ लगाउन सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले फागुन २ देखि ८ गतेसम्म दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई जिल्लाबाटै खोप प्रदान गरिने छ । उनका अनुसार जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, जिल्लास्थित पत्रकार, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, सीमा सुरक्षा चौकीमा खटिएका सुरक्षाकर्मी र पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने छ ।

पहिलो प्राथमिकतामा परेका व्यक्तिबाट बचेको खोप मन्त्रालयको दोस्रो प्राथमिकता परेका तीन लाख व्यक्तिलाई लगाइने उनले बताए । खोप अस्पताल र स्वास्थ्य सङ्घसंस्थाबाट लगाइने भएको छ । सरकारले पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शव बाहन चालक, सीमा सुरक्षामा खटिएकाहरुलाई खोप उपलब्ध गराएको थियो ।