११ माघ

पर्वत।नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन भएसँगै पर्वतको जलजला गाउँपालिका–८ नाग्लिवाङका एक सय भन्दा बढि कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । जनताले दुई तिहाई जनमत दिएर पाँच बर्षका लागि पठाएको दल आन्तरिक भागवण्डाका कारण फुटेर देशलाई अस्थिरता तर्फ धकेलेको निष्कर्ष सहित शनिवार नाग्लिवाङका एक सय १५ जना कार्यकर्ता नेकपा छोडेर नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । कम्युनिस्ट सरकारले जनताका लागि नभई आफ्ना नजिकका झोले कार्यकर्ताहरुले सुविधा पाउने गरेको र विकास निर्माणका कार्यमा भ्रष्टाचारलाई प्रसय दिइरहेकाले पार्टी छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेको नवआगन्तुक कार्यकर्ताहरुको भनाई छ ।

नेपाली काँग्रेस वडा कार्य समिति जलजलाले आयोजना गरेको कार्यक्रममा सबै नयाँ प्रवेशीहरुलाई स्वागत गरिएको हो । सभालाई सम्बोधन गदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीले कम्युनिष्टहरु गफ मात्रै गर्छन, जनतालाई ढाट्छन भन्ने कुरा अहिले पुष्टि भएको बताउनु भयो । उहाँले यो देशको आशा र भरोसाका साथै मुलुकको विकास र समृद्धि दिने पार्टी नेपाली काँग्रेस नै भएको दाबी समेत गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जोशीले नेपाली काँग्रेसले इतिहासदेखि अहिलेसम्म जनता र मुलुकको लागि गरेको कामले नै अहिले नेपाली काँग्रेसमा प्रवेशको लहर आएको बताउनु भयो । जोशीले नाग्लीवाङका जनता नेकपाको बधुँवा पशु बन्न नसकेर काँग्रेसमा प्रबेश गरेको भन्दै अरु गाउँका कार्यकर्ताहरुलाई पनि प्रबेश हुन अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभापती एवं साँसद लालकाजी गुरुङ, पूर्व सभापति नवराज गुरुङ, महासमिति सदस्य एवं पूर्व साँसद ऋषिकेश तिवारी, नेपाल तरुण दलका केन्द्रिय कोषाध्यक्ष विद्धान गुरुङ, पार्टी उपसभापति दुर्गावहादुर खत्री, नेपाली काँग्रेस पर्वतका सचिव विश्वप्रसाई, नेपाली कांग्रेस पर्वतका कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’, काँग्रेस पर्वतका महासमिति सदस्य गंगाधर तिवारी, महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्री, कुश्मा नगरपालिकाकी उपप्रमुख एवम् महाधिवेशन प्रतिनिधी सीता काफ्ले लामिछाने, नेपाली काँग्रेसको महिला विभागका केन्द्रीय सदस्य रेखा गुरुङ, नेपाली काँग्रेसका बागलुङका महाधिवेशन प्रतिनिधी जगन्नाथ आचार्य, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रिय उपाध्याक्ष एवम् गण्डकी प्रदेशका संयोजक शिव शर्मा अधिकारी, नेपाली कांग्रेस पर्वतका जिल्ला कार्य समिति सदस्य डाक्टर चूडामणि शर्मा, नेपाली काँग्रेसका उद्योग विभागका केन्द्रिय सदस्य विप्लव हमाल, नेपाली काँग्रेस पर्वतकी जिल्ला सदस्य सरस्वती शर्मा जिज्ञासू लगायतले बोल्नुभएको थियो । कार्यक्रममा लोकगायक विमलराज क्षेत्रीले सांगितिक प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।

काँग्रेस वडा कार्य समिति जलजला गाउँपालिका–८ नाग्लिवाङका सभापति रामप्रसाद क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य काँग्रेस नेता हरेमवहादुर खत्री र कार्यक्रमको ंसञ्चालन तरुण दल जलजला गाउँपालिकाका नेता रमेश क्षेत्री रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा धन्यवाद मन्तव्य वडा अध्यक्ष एवम् काँग्रेस नेता हरिविकास जिसीले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।