९ माघ

पर्वत । कुश्मा नगरपालिकाका प्रमुख एवं नेपाली काँग्रेस कुश्मा नगरकार्यसमितिका सभापति रामचन्द्र जोशीले संसद विघटनको निर्णय फिर्ता गर्ने माग र प्रधानमन्त्रीमा देखिएको निरकुंश सोचका बिरुद्धमा नेपाली जनता आन्दोलनमा उत्रिएको बताउनुभएको छ । पर्वतको कुश्मा नगरपालिका १४ आर्थरडाँडाखर्कमा नेपाली काँग्रेस वडा कार्यसमितिले सरकारले प्रतिनिधी सभा विघटन गरेको बिरोधमा आयोजना गरेको बिरोध कार्यक्रमलाई सम्बोधन गर्दैै जोशीले आन्दोलनको बलमा बिगतमा निरकुंशतालाई पराजित गरेको बताउँदै केपी शर्मा ओलीमा पलाएको निरकुंशता लाई पनि तह लगाईने बताउनुभयो ।
जोशीले काम चलाउ प्रधानमन्त्री लगाम बिनाको घोडा बनेको चर्चा गर्नुभयो । संविधानमा संसद विघटन गर्ने सुविधा नै नहुँदा पनि ओलीले गलत व्याख्या गर्दै संसद विघटन गरेको धारणा राख्नुभयो । गलत काम गर्न नभई जनताको पक्षमा काम गर्न देशमा दुई तिहाई मतको सरकार बनाएको तर ओलीले भने त्यसको दुरुपयोग गरेको नगरप्रमुख जोशीको भनाई छ । हिजो रेल, पानी जहाज, घरघरमा ग्याँसको पाईप ल्याउने बाचा गरेर चुनाव जितेको नेकपा आज कुर्चि र शक्तिमा लुछाचुँडी गरेकोले उनीहरु जनताका लागि नभई आफ्ना लागि राजनीति गरेको बताउनुभयो । जोशीले व्यवस्था परिवर्तन गर्न आन्दोलन गरेका जनता अहिले संविधानको गलत प्रयोग भएको र संविधानको रक्षा नहुने खतरा देखेर आन्दोलनमा उत्रिएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य कुलप्रसाद उपाध्यायले ओलीमा अंहकार बढेको बताउनुभयो । उहाँले काँग्रेस चुनावमा जान डराएर नभई जनताको अधिकार रक्षाका निम्ति सडकमा आउनुपरेको उपाध्यायले स्पष्ट पार्नुभयो । आर्थरडाँडाखर्कमा नेकपामा सक्रिय रहेका तिलक अधिकारी, कर्णबहादुर विक, गोकुल जिसी लगायतका व्याक्ति काँग्रेसमा प्रबेश गरे । उनीहरुलाई नेता जोशीले पार्टीमा स्वागत गर्नुभयो ।
नेपाली काँग्रेस आर्थरडाँडाखर्कका सभापती रुद्रमोहन रिमालले नेपाली जनताको अपेक्षा विपरित सरकार अगाडी बढेकाले देशमा समस्यामा परेको बताउनुभयो । रिमालले गाउँको विकास र समृद्धिको नारा दिएर चुनावमा विजयी भएका प्रधानमन्त्रीले जनतालाई झुक्काएको आरोप लगाउनुभयो ।
उहाँले आर्थरडाँडाखर्कको विकासका लागि नेपाली काँग्रेसको खाँचो देखिएको दाबी गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य कुलप्रसाद उपाध्या, नेपाल निजामती कर्मचारी यूनियन संघका अध्यक्ष यामप्रसाद शर्मा , स्थानीय काँग्रेस नेताहरु मनमाया नेपाली , अम्मरवहादुर क्षेत्री, मानवहादुर क्षेत्री , खिमलाल सुबेदी लगायतले बिरोधसभामा आफ्ना धारणा राख्नुभयो ।
कार्यक्रम वडा सभापती रुद्रमोहन रिमालको सभापतित्वमा भएको थियो । कार्यक्रमको स्वागत उपसभापती कृष्णवहादुर बानियाँले गर्नुभयो भने कार्यक्रमको सञ्चालन लेखनाथ रिमालले गर्नुभएको थियो । पार्टी कार्यालय बाट विरोध ¥याली शुरु भई गाउँ परिक्रमा पछि कोणसभा गरिएको थियो ।