७ माघ

हप्तौं लामो चुनावी प्रक्रिया, झुठ, जालसाँजी र शक्तिको दुरुपयोगका बावजूद विश्व शक्ति राष्ट्र अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याट नेता जोसेफ आर बाइडेनले औपचारिक रुपमा बुधवार शपथ ग्रहण गर्दैछन् ।

स्थानीय समयअनुसार मध्यान्ह १२ वजे अर्थात नेपाली समय अनुसार रातिको पौने ११ वजे बाइडेनले बर्तमान राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई प्रतिस्थापन गर्दै आफ्नो हवाइट हाउस यात्रा तय गर्नेछन् । अमेरिकी संसद भवन क्यापिटोलबाहिर सुसज्जित भब्य मञ्च र हजारौं सुरक्षाकर्मीमाझ सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोह्न रोबर्टसले बाइडेनलाई शपथ गराउनेछन् । कोभिडको जोखिम र गत जनवरी ६ मा संसदमा बाइडेनको जीत घोषणा गर्ने दिन ट्रम्प समर्थक उग्रवादीहरुको हिंसात्मक घटनाका कारण यसपटकको शपथ ग्रहण समारोमा विगतमा जस्तो शुभचिन्तकहरूको भब्य उपस्थिति भने हुनेछैन ।

शपथ ग्रहण समारोहका लागि तयारी 

ट्रम्प सहभागी नहुने
आफूले केही गर्दा पनि निर्वाचन जित्न नसकेपछि धाँधलीको आरोप लगाउँदै समर्थकलाई हिंसाका लागि प्रेरित गरेर महाअभियोगको सामना गर्दै ह्वाइट हाउस छोड्न लागेका निबर्तमान राष्ट्रपति डोनाल्ड जे. ट्रम्प भने बाइडेनलाई शुभकामना दिन शपथ ग्रहण समारोहमा उपस्थित हुनेछैनन् । उनी बाइडेनको शपथ ग्रहण शुरु हुनु केही घण्टा पूर्व नै मेरिल्याण्डको सैन्य बेसमा विदाइ समारोहलाई सम्बोधन गरेर पाम ए बीचस्थित निजी गल्फ रिसोर्ट प्रस्थान गर्नेछन् ।
को को हुनेछन् ? शपथग्रहण समारोहमा
बाइडेनको शपथ ग्रहणमा शुभकामना दिन तीन पूर्व अमेरिकी राष्ट्रपतिहरु बाराक ओबामा ( जसलाई बाइडेनले आठ वर्ष उप–राष्ट्रपतिको रूपमा साथ दिए ),बिल क्लिन्टन र जर्ज डब्ल्यू बुश उपस्थित हुनेछन् । निवर्तमान उपराष्ट्रपति माइक पेन्स भने मेरिल्याण्डमा ट्रम्पको विदाई कार्यक्रममा सहभागि भएर बाइडेनलाई बधाइ दिन आउनेछन् ।

यस्ता छन् बाइडेनका नयाँ योजना
शपथ ग्रहण समारोहलाई करीब आधा घण्टा सम्बोधन गर्दै बाइडेनले ट्रम्पले अशान्त र विभाजित बनाएर छोडेको अमेरिकालाई फेरि लयमा फर्काउने विश्वासका साथ राष्ट्रिय एकताको आशावादी आह्वान गर्ने उनका सहायोगीहरुले बताएका छन् । ह्वाइट हाउसको पहिलो पाइला चाल्दै गर्दा बाइडेनले एक कार्यकारी आदेश जारी गर्ने योजना बनाएका छन्, जसले ट्रम्पले आफ्नो कार्यकालमा गरेका धेरै गल्ती सुधार्ने बाटो खोल्नेछ । मूलतः जलवायु परिवर्तनसम्बन्धी पेरिस सन्धीबाट हात झिक्ने ट्रम्प निर्णय खारेजी,१ करोड १० लाख कागजात विहीन आप्रवासीहरुको सहज नागरिकता प्राप्ति तथा कतिपय मुस्लिम राष्ट्रबाट अमेरिका भ्रमणमा लगाइएको यात्रा प्रतिवन्ध फुकुवा बाइडेनका नयाँ नीतिका रुपमा घोषणा हुनेछन् ।

राजधानी वाशिंगटनमा सुरक्षा कडाई 

कडा सुरक्षा ब्यवस्था
राष्ट्रिय सुरक्षा गार्डका २५ हजार सुरक्षाकर्मीहरुले शपथ ग्रहणका दौरान ह्वाइट हाउस,क्यापिटोल र नेसनल मलको सुरक्षा प्रदान गर्नेछन् । राजधानी वासिंगटन डीसीका सडकहरु ब्यापक रुपमा खाली गराइएको छ । उग्र दक्षिणपन्थी मिलिसिया समूहरुसंग साँठगाँठ गरेको आरोपमा राष्ट्रिय सुरक्षा गार्डका १२ सैन्य अधिकृतलाई शपथ ग्रहण समारोहको सुरक्षा जिम्मेवारीबाट हटाइएको छ । अधिकारीहरुले बाइडेनमाथि कुनै सुरक्षा खतरा नरहेको जानकारी दिएका छन् ।

सजिसजाउ क्यापिटोल

एउटा अति उग्र राष्ट्रवादी नेतृत्वको अवसान र तुलनात्मक सहिष्णु राष्ट्रप्रमुखका रुपमा अमेरिकी जनताले आफ्नो नयाँ राष्ट्रपतिको स्वागत गर्ने ऐतिहासिक क्षणको सिएनएन, बीबीसी लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्रत्यक्ष प्रशारण गर्नेछन् ।