३ माघ

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले शनिबार (आज) देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको कांग्रेसले पूर्वनिर्धारित कार्यक्रमअनुसार सात सय ५३ वटै पालिकामा प्रदर्शन गर्न लागेको हो ।

गएको पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ वटा पालिका र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवम् सभाको आयोजना गर्ने निर्णय गरेको थियो ।

सभापति शेरबहादुर देउवाले सरकारको विरोध प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।