१० पुस

काठमाडौं । महालक्ष्मी विकास बैंक, कुमारीपाटीमा करारमा राखिएका एक जना सुन जाँचकीको नयाँ आर्थिक वर्षमा म्याद थप भएन । साउनपछि नयाँ कर्मचारी नियुक्त गरिए ।

उनले साँवाब्याज नतिरिएका पुराना फाइलका धितो जाँच गर्न थाले । त्यसक्रममा ७ करोड ४२ लाख ६१ हजार रुपैयाँ कर्जा अनियमितरुपमा प्रवाह भएको देखियो । त्यसपछि यो विषय बैंकको केन्द्रीय कार्यालय हुँदै नेपाल राष्ट्र बैंकसम्म पुग्यो ।

बैंकबाट समस्या समाधान हुन नसक्ने देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी पर्यो र अनुसन्धानका क्रममा अनियमितता पुष्टि भएपछि ६ जना पक्राउ परेका छन् । अझै केही फरार छन् ।

हालसम्म पक्राउ परेकामा बैंकका तीन जना शाखा प्रबन्धकसहित ऋणी छन् । ‘अन्य केही व्यक्तिको खोजी जारी राखेका छौं’, ब्युरोका प्रमुख डीआईजी सहकुलबहादुर थापा भन्छन् ।

१२ हजार ५ सय ग्राम कम सुन

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार सुन जाँचकीले हेर्दा धितोमा ५ हजार ग्राम सुन मात्र रहेको पाइएको थियो । साढे ७ करोड ऋण प्रवाहका लागि कम्तिमा १७ हजार ५ सय ५७ ग्राम सुन ढुकुटीमा हुनुपर्ने थियो ।

‘यति ठूलो अन्तर देखिएपछि हल्लीखल्ली सुरु भएको थियो र छानविन थालिएको हो’, ब्युरोका अनुसन्धान अधिकृत भन्छन्, ‘एकातिर ब्याज पनि नतिर्ने, अर्कातिर लिलाम गर्दा पनि कर्जा नउठ्ने भएपछि हामीकहाँ जाहेरी आइपुग्यो ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार हाल पक्राउ परेका ऋणी खोटाङ घर भइ ललितपुर बस्ने पूर्ण राई, देवानन्द राई, सन्दिप लिम्बुलगायतले तीन जना शाखा प्रबन्धकको कार्यकालमा ऋण लिएका थिए ।