१४ मंसीर
पर्बत, कोरोना महामारीको ब्यवस्थापनमा पर्वतको जलजला गाउँपालिका प्रदेशको उत्कृष्ट स्थानीय तह
पर्बत, मंसिर १३–पर्वतको जलजला गाउँपालिका कोरोना महामारीको ब्यवस्थापनमा गण्डकी प्रदेशकै उत्कृष्ट स्थानीय तह घोषित भएको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लाका ११ वटा स्थानीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा छनौट गरिएकोमा पर्वतबाट जलजला गाउँपालिका परेको हो ।
स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक÷एक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि कोरोनाको समयमा गरेका बिभिन्न कामको आधारमा ११ स्थानीय तह छनौट गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उत्कृष्ट ब्यवस्थापन गर्नेमा पर्वतको जलजला गाउँपालिका, म्याग्दीको मङ्गला गाउँपालिका, मुस्ताङको घरपझोङ्ग गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, तनहुँको देवघाट गाउँपालिका, लमजुङको सुन्दरबजार नगरपालिका, मनाङको चामे गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका, गोरखाको आरुघाट गाउँपालिका र नवलपुरको देवचुली नगरपालिका रहेका छन् । कोरोनाको महामारीको समयमा संक्रमितको उपचार, क्वारेन्टाइन व्यवस्थापन, तथा उद्धार महामारी रोक्नका लागि गरिएको प्रयासलगायतका सूचकको आधारमा उनीहरूको मूल्याङ्कन सदरमुकाममा रहेका स्वास्थ्य कार्यालयहरूले गरेका थिए ।
पर्वतको जलजला गाउँपालिकामा नेपालमा कोरोना भित्रिएसँगै सचेतना र त्यसबाट बच्नका लागि आवश्यक तयारी भएको थियो । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सुरुमा गाउँपालिकामा आफ्नो ब्यक्तिगत दुई लाख रुपैयाँ राखेर गाउँपालिकामा कोरोना कोष स्थापना गरेका थिए । हरेक वडामा स्वास्थ्य सामाग्रीसहित स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्नुका साथै वडास्तरमा क्वारेन्टाइन स्थापनासमेत जलजाल गाउँपालिकाका अध्यक्ष मल्लको सक्रियतामा भएको थियो ।
मल्लले गाउँपालिकामा मात्रै होइन कुश्मा नगरपालिकामा ब्यक्तिगत ३० हजार नगद प्रदान गर्नुका साथै तरकारलगायत खाद्यान्न सहयोग गरेका थिए । मल्लले ब्यक्तिगत लगानीमा पर्वतका सात वटै पालिकामा ज्वरो नाप्ने थर्मोगनका साथै थर्मोगन पनि निशुल्क बितरण गरेका थिए । मल्लले मोदी, फलेबास, महाशिला, पैयूँ र बिहादीमा ब्यक्तिगत लगानीमा स्वास्थ्यसामाग्री बितरण गरेका थिए । नेपाली काँग्रेसका युवा नेता समेत रहेका यामबहादुर मल्ल (रामकृष्ण)ले जलजला गाउँपालिकामा विभिन्न संघसंस्थाको सहयोग जुटाएर नौ वटै वडाका बिपन्न तथा गरिब परिवारलाई खाद्यान्न लगायत स्वास्थ्य सामाग्री बितरण गरेका थिए ।