१२ मंसीर

गुल्मीको इस्मा गाउँपालिकामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनमा परी अन्य २ जना गम्भीर घाइते भएका छन् ।

इस्मा गाउँपालिका वडा नम्बर–४ मा लु १ ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृत्यु हुनेमा इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापा रहेको इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले बताए ।  ।

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै १९ वर्षीय परशुुराम थापा, २८ वर्षीय सरस्वती दर्लामी र सहचाक २५ वर्षीय कमल हितान घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।

शुक्रबार बिहानै इस्माबाट तम्घास आउँदै गरेको जीप सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटना भएको हो । सकुशल रहेका जीपका चालक र सामान्य घाइते सहचालकलाई इस्मा प्रहरीले नियन्त्रणमा लिएको छ ।