८ मंसिर

हरि पन्त पोखरा । टेन्डम उडान भरेको फिस्टेल प्याराग्लाइडिङ ल्याण्ड गर्नेक्रममा दुर्घटनामा परेको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा पोखरा २८ का प्यारापाइलट ३८ वर्षका राजु नेपाली रहेका छन् ।

यसैगरी घाइते हुनेमा प्याराग्लाइडिङ यात्रु काठमाडौंकी शीला श्रेष्ठ रहेकी छन् । उनको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।

उनको अवस्था चिन्ताजनक रहेकाले काठमाडौं लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ र फेवातालको सिरान क्याम्पचोकमा ल्याण्ड गर्ने क्रममा फिस्टेल प्याराग्लाइडिङ दुर्घटनामा परेको हो । ल्याण्डिङ एसियाभन्दा करिव डेढ किलोमिटरमाथि जमिनमा प्याराग्लाइडिङ खसेको बताइएको छ ।