२९ असार

पर्वत/नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले जिल्लामा कोरोनाको उच्च जोखिमलाई कम गर्न र क्वारेन्टिन र आइसोलेसनमा रहेका व्यक्तिहरुको रोग प्रतिरोधात्मक क्षमताको विकास विकास गर्न पर्वतमा नयाँ औषधि वितरण गर्नुभएको छ । मारवाडी सेवा समाज काठमाडौको सहयोगमा नेता जोशीले सोमवार जिल्ला प्रशासन कार्यालयमा पुगेर पर्वतका प्रमुख जिल्ला अधिकारी मार्फत जिल्लामा गठित कोरोना नियन्त्रण समन्वय समितिलाई उक्त औषधि हस्तान्तरण गर्नुभएको हो । उक्त औषधि सातसय भन्दा बढि व्यक्तिले सेवन गर्न सक्ने छन् ।

औषधि हस्तान्तरण पछि बोल्दै नेता जोशीले कोभिड–१९ को महामारीबाट बच्ने र बचाउने दायित्व र जिम्मेवारी सबैको भएकोले शुरूदेखि नै आफूले यो अभियानमा रचनात्मक सुझाव सहित सहयोग गर्दै आएको वताउनु भयो । ‘हरेक महामारी र विपत्ति जिल्लाबासीका साझा समस्या हुन्, यी समस्याविरूद्ध हामी सबैको साझा दृष्टिकोण र प्रतिबद्धता चाहिन्छ ।’– नेता जोशीले भन्नुभयो । उहाँले कोरोनाको नियन्त्रण र रोकथामका लागि स्थानीय प्रशासनले बनाउने हरेक रणनीतिक योजनामा आफ्नो पुरै सहयोग रहने प्रतिबद्धता समेत जनाउनु भयो ।

नेता जोशीले क्वारेन्टिन र आइसोलेशनमा बसेका व्यक्तिहरुको मनोबल बढ्ने तरिकाले सेवा गर्न र उनीहरुको भोजनमा समेत ध्यान दिन समितिलाई आग्रह गर्नुभएको थियो । साथै उहाँले देशमा हाल बर्षे मनसुन शुरु भइसकेको र प्रयाप्त बर्षा समेत चलिरहेकोले जिल्लाका संभावित जोखिम बस्तीहरुको पहिचान गरि उच्च सतर्कता अपनाउन र आवस्यक तयारी गर्न समेत प्रमुख जिल्ला अधिकारी लगायत जिल्लाको सुरक्षा र विपद् व्यवस्थापन समितिलाई आग्रह गर्नुभएको थियो । नेता जोशीले कोरोनाको जोखिम न्यूनीकरणका लागि जिल्लामा गठित सिसीएमसीले खेलेको भूमिकाको प्रशंसा गर्दै काँग्रेस केन्द्रीय समितिको तर्फबाट सबैलाई आभार व्यक्त गर्नुभएको थियो । काँग्रेस नेता जोशीले यसअघि पनि विभिन्न मितिमा कोरोना विरुद्धका स्वास्थ्य सामग्री कोरोना नियन्त्रण समन्वय समितिलाई हस्तान्तरण गरि सक्नुभएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले संकटको घडीमा धेरै चासो र चिन्ताका साथ कोरोना विरूद्धको अभियानमा महत्वपूर्ण योगदान पुर्याउनुहुने संविधानसभा सदस्य जोशीप्रति धन्यवाद प्रकट गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सचिव अशोक उच्चै ठकुरी, जिल्ला अस्पतालका डा. शिशिर देवकोटा र विद्यार्थी नेता डा. केदार सुवेदी लगायतको सहभागीता रहेको थियो ।