२५ चैत्र

पर्वत । पर्वतको जलजला गाउँपालिकाले सात सय ८२ विपन्न परिवारलाई राहत वितरण गर्नेभएको छ । गाउँपालिकाका ९ वटै वडाका जनप्रतिनिधिहरुको सिफारीसका आधारमा ७ सय ८२ परिवारका ४ हजार नागरिक प्रत्यक्ष लाभान्वित हुनेगरी राहत वितरण गर्न लागेको हो ।
उद्योग बाणिज्य संघको वारिवेनी शाखासँग आवश्यक समन्वय र सामान खरिद गरि विपन्नहरुलाई वितरण गर्ने सोमवार सम्पन्न कार्यपालिकाको वैठकले निर्णय गरेको छ ।

त्यसैगरी राहत वितरण गर्दा तस्विर नखिच्न र सामाजिक सञ्जालमा नहाल्न पनि पालिकाले आग्रह गरेको छ । त्यस्तै जलजला गाउँपालिकाले आफुखुशी राहत बितरण गर्ने र सामाजिक सञ्जालमा प्रचार गर्नमा रोक लगाएको छ । गाउँपालिकाले लकडाउन अवधिमा खान नपाउने बिपन्न बर्गलाई सहयोगका लागि सहयोग गर्न इच्छा लागेमा गाउँपालिकाको राहत कोषमार्फत गर्न आग्रह गरेको छ । जलजला गाउँपालिकाको सोमबार बसेको बैठकले एकद्धार प्रणालीमार्फत नै गरिब तथा बिपन्न बर्गलाई राहत दिने योजना बनाएको र अन्य कोही सहयोग गर्ने इच्छुकले त्यही कोषमार्फत गर्नुपर्ने निर्णय गरेको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिनुभयो । ‘आफु खुशी राहत दिने र प्रचारबाजी गर्न कसैले पाउदैन, गाउँपालिकाको राहतकोषमार्फत नै राहत बितरण गर्न पाइन्छ’ अध्यक्ष मल्लले भन्नुभयो । अध्यक्ष मल्लले गाउँपालिकाको राहत कोषमा ब्यक्तिगत रुपमा दुई लाख रुपैयाँ प्रदान समेत गर्नुभएको छ ।

त्यस्तै उक्त कोषमा जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले ब्यक्तिगत रुपमा नगद १० हजार जम्मा गर्नुभएको छ । गाउँपालिकाले अति बिपन्न बर्गको लगत वडास्तरबाट संकलनको काम भइरहेको भन्दै त्यस्ता बर्गलाई लक्षित गरेर राहत दिने पनि जनाएको छ । यसैगरी जलजला गाउँपालिकाले कुश्मामा निर्माण भएको आइसोलेसन वार्डका लागि सात लाख रुपैयाँ बिनियोजन गरेको छ । कुश्मास्थित गुप्तेश्वर क्याम्पसमा पर्वतका सबै पालिकाले सहयोग गर्नेगरी कोरोना अस्थायी अस्पताल स्थापना गरिएको थियो । त्यस्तै जलजला गाउँपालिकाले गाउँपालिकाभित्र कालोबजारी नहोस, खाद्यान्नको अभाव नहोस भनेर अनुगमन समिति गठन गरेको छ । गाउँपालिकाका अध्यक्ष मल्लको संयोजकत्वमा गठन गरिएको समितिमा विभिन्न बिषयगत क्षेत्रबाट प्रतिनिधि तोकिएको छ । समितिले नियमित रुपमा बजारको अनुगमन गर्ने भएको छ ।

यता जलजला गाउँपालिकामा बिदेशबाट फर्किएका संकास्पद नौ जनाको सोमबार स्वाव लिइएको छ । दुबई, कतार, अष्ट्रेलियालगायतका मुलुकबाट हालै फर्किएका उनीहरुको स्वाव लिएर ल्याबमा परिक्षणका लागि पठाइएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । जलजला गाउँपालिकाले बिदेशबाट फर्किएका संकास्पदलाई राख्नका लागि लुङ्दी आधारभुत बिद्यालयमा १५ बेडको क्वारेन्टाइन वार्ड निर्माण गरेको छ । गाउँपालिकाले कुश्मामा स्थापना भएको आईसोलेशन वार्डका लाई सातलाख रूपैयाँ सहयोग गर्ने निर्णय यसअघिनै गरिसकेको छ ।