२६ माघ
बीबीसी थाईसँगको कुराकानीमा रक्षा मन्त्रालयका प्रवक्ताले बताए अनुसार जकराफन्थ थोमा नामक कनिष्ठ अधिकारीले सैन्य क्याम्पबाट हतियार चोर्नुअघि आफ्नो कमान्डिङ अधिकारीमाथि हमला गरेका थिए । त्यसपछि उनले उत्तर पूर्व बैंकको शहरको सपिङ सेन्टर र बौद्ध मन्दिरमा गोलीबारी गरे । हमलाकर्ता अहिले कतै लुकिरहेका छन् । स्वास्थ्यमन्त्री अनुतिन चर्नविराकुलले घटनास्थलमा १६ जनाको र अन्य चारजनाको अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

उक्त घटनामा ३१ जना घाइते भएको जसमध्ये १० को स्थिती गम्भीर बताइएको छ । मृतक र घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । स्थानीय मिडियाको फुटेजमा देखिए अनुसार संदिग्ध हमलाकर्ता आफ्नो कारबाट सपिङ सेन्टर बाहिर निस्किरहेको र मानिसहरुमाथि गोली वर्षाइरहेको देखिएका छन् । थुप्रै फुटेजमा भवनबाहिर आगो पनि देखिएको छ ।

केही रिपोर्टका अनुसार गोली लागेका कारण एउटा ग्यास सिलिन्डर पड्किएको जसका कारण आगलागी भएको हो । संदिग्धले आफ्नो एक तस्बिर सोसल मिडियामा पोष्ट गरेका छन् जसमा उनी आगो अगाडि उभिएका छन् ।प्रशासनले सपिङ सेन्टर सील गरेको छ र संदिग्धको खोजी गरिरहेको छ । पुलिसले स्थानीयलाई आफ्नै घरभित्र रहन आग्रह गरेको छ ।

संदिग्धले कुन उद्देश्यका साथ हमला गरेका थिए, त्यो भने स्पष्ट भएको छैन । हमलाको क्रममा संदिग्धले सोसल मिडियामा पोष्ट पनि गरिरहेका थिए, एक पोष्टमा उनले कता आत्मसमर्पण गर्ने भनेर सोधिरहेका थिए ।