१७ वैशाख

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ मा रहेको एक केमिकल गोदाममा भिषण आगलागी भएको छ । मानवबस्तीका बीचमा रहेको केमिकल गोदाममा एक्कासी साझ साढे पाँच बजेतिर भिषण आगलागी भएको हो ।

वीरगन्जमा रहेको नेशनल ट्रेडिङ्ग लिमिटेडको अगाडी रहेको नेपाल फर्मास्यूटिकल्स लिमिटेड (एनपीएल) कार्यालयसँगै जोडिएको केमिकल गोदाममा ठूलो आगलागी भएको छ ।

आगो करिब साढे ५ बजेतिरबाट सुरु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक मानबहादुर राईले बताए । केमिकल गोदाममा के कारणले आगलागी भएको हो ? भन्ने एकिन नभएको उनको भनाइ छ ।

गतवर्ष वीरगन्ज महानगरपालिका क्षेत्रभित्र रहेको एउटा ग्याँस उद्योगमा आगलागी हुँदा आगो निभाउने केमिकल नहुँदा ३ जनाको मृत्यु भए पनि त्यस्तै प्रकृतिको केमिकलमा लागेको आगो पानीले मात्र नियन्त्रणमा लिन सम्भव नभएको वीरगन्ज महानगरपालिकाका दमकल शाखाका कर्मचारीले बताए ।

तथापि वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका लगायतका ठाउँबाट आएका ५⁄६ वटा दमकल र आगो निभाउन प्रयोग गरिने एक किसिमको केमिकल मगाइ आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।