१७ वैशाख

काठमाण्डाै – क्याप्टेन विजय लामाले जति दुःख पीडा आए पनि आफू नडगमगाउने बताउनु भएको छ । नेपाल वायु सेवा निगमको प्रवक्तबाट हटाइए पछि सोमबार राति आफ्नो फेसबुक स्टाटसमा उहाँले आफू सही सोचका साथ अघि बढ्ने उल्लेख गर्नु भएको छ । आफूले आफ्नो बाबुबाट आत्मबल, सत्यमार्ग, सही सोच अनि निडरपन सिकेको भन्दै उहाँले देशको माया र काम गर्ने संस्थाप्रति सधैं कदर गर्ने उल्लेख गर्नुभएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशन अनुसार निगमले पाइलट लामालाई प्रवक्ताबाट हटाएको हो । प्राधिकरणले विवादास्पद अन्तरवार्ता दिएको र यात्रुमाथि खेलबाड गरेको भन्दै लामालाई शुक्रबार नै निलम्बन गरिएको थियो । प्राधिकरणले लामालाई प्रवक्ता बाट हटाउन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको सुरक्षा निर्देशिका राम्रोसँग अध्ययन गराउन निगमलाई पत्राचार गरेको थियो । लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएपछि निलम्बन फुकुवा गरिएको छ ।

क्याप्टेन विजय लामाले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस : मैले आत्मा बल, सत्य मार्ग, सहि सोच अनि निडर पन मेरो बाउ बाट सिकेको छु ! देशको माया, मात्री भुमिको मूल्य, नेपाली सन्तानको माया, काम गर्ने संस्था अनि वर्दिको कदर पनि यिनै महापुरुष बाट सिकेको हु! त्यसैलै जति आधी भेरी आए नि, जति दुख पीडा आए नि कहिले डगमगाउनु सिकिन!! तपाइहरु सबैको माया अनि साथको लागि हृदय देखि प्रणाम! सादुवाद! धन्यबाद!!! जय चन्द्र सुर्य!