सांकेतिक तस्विर

बैशाख १३

सिरहा । सिरहाको कल्याणपुर नगरपालिका ८ अरङ मण्डल टोलमा आफ्नै घरको आँगनमा जल्दै गरेको अवस्थामा एक दलित महिला भेटिएकी छिन् । आफ्नै घरको आँगनमा जलिरहेको अवस्थामा भेटिएकी २० वर्षीया कञ्चन मण्डलको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

बिहिबार बिहान करिब ९ बजे आँगनमा जल्दै गरेको अवस्थामा गाउँलेले देखेको बताएका छन् । शरीरको करिब ७५ प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारको लागि काठमाडौं लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले घटनाको विषयमा अझै अनुसन्धान हुन बाँकी रहेको जनाएको छ । जलेर घाइते भएकी कञ्चनले आफूलाई श्रीमान र सासु मिलेर आगो लगाएको बताएको प्रहरीको भनाई छ ।

स्थानीयले भने कञ्चनको श्रीमान बेचु मण्डल करिब तीन महिना अघि नै रोजगारीको लागि भारतको अहम्दावाद गएको जनाएका छन् । प्रहरीले घटना सम्वेदनशील भएकोले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ । आत्महत्या वा हत्याको प्रयास के हो भन्ने प्रष्ट हुन केही समय लाग्ने प्रहरीको भनाई छ ।

घटनालगत्तै स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उनलाई मिर्चैयास्थित मंगलम् हेल्थ केयर सेन्टर पु्र्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि धरान हुँदै काठमाडौं पठाइएको प्रहरी नायब उपरीक्षक खरेलले जानकारी दिए ।

कञ्चन वृद्ध सासू सुरजीदेवी मण्डल र करिब दुई वर्षीया छोरी राधासँग घरमा बस्दै आएकी थिइन् । उनको सासु र श्रीमानसँग राम्रो सम्बन्ध नरहेको पनि स्थानीयवासीको भनाई छ । उनी बेला बेला घर छोडेर भाग्ने गरेको पनि स्थानीयले बताएका छन् । स्थानीयले भने घरमा कोही नभएको बेला आफैले जीउमा मट्टितेल खन्याएर आत्महत्याको प्रयास गरेको बताएका छन् ।