१३ वैशाख

पर्वत लोकतन्त्र दिवसको अवसरमा जिल्लामा औपचारिक कार्यक्रम गर्न छाडिएको छ ।  वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा कुनै कार्यक्रम नभएपछि जनआन्दोलनमा साहदत प्राप्त शहिदहरुको सम्झना हुन सकेन् ।
जनआन्दोलन भाग–२ पश्चात मुलुकमा धेरै परिवर्तनहरु आइसकेका छन् । तर आखिर कसैले सम्झेनन् शहिदलाई । आन्दोलनको सफलता पश्चात मुलुकमा थुप्रै परिवर्तनहरु आएपनि आन्दोलनमा आफ्नो प्राण बलिदान गर्ने शहिदहरुको सम्मान हुन नसकेको शहिद परिवारहरुले गुनासो गरेका छन् ।
जनआन्दोलन भाग २ मा धौलागिरीबाट ज्यान गुमाएका एकमात्र शहिद गोविन्दनाथ शर्माको परिवारले राज्य तथा सरोकारवाला निकायहरुले शहिदहरुको अपमान गरेको बताएका छन् ।


लोकतन्त्र दिवसमा कसैले स्मरण नगरेपनि उनले सहादत प्राप्त गरेको दिनको स्मरणमा पर्वत उद्योग बाणिज्य संघले भने शहिद शर्मालाई स्मरण गरेको छ । संघका पूर्व अध्यक्ष तथा केन्द्रिय सदस्य समेत रहनुभएका गोविन्दनाथ शर्माको स्मृति दिवसको अवसरमा श्रद्दाञ्जली अर्पण कार्यक्रम गरेको हो । सो अवसरमा सहभागिहरुले शहिदले देखाएको बाटो अनुसार मुलुकका दलहरु चल्न नसकेको बताएका छन् । मुलुकमा नयाँ संविधान जारी भएपनि सफल कार्यान्वयनतर्फ दलहरु अग्रसर हुनुपर्ने बताएका थिए ।
सो अवसरमा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, निवर्तमान अध्यक्ष हरिओम शर्मा लामिछाने, पूर्व अध्यक्ष हरिप्रसाद आचार्र्य, सल्लाहाकार पृथ्वीनारायण शर्मा र शहिद शर्माका भाई देव शर्माले गोविन्दनाथ शर्माको योगदानको चर्चा गर्नुभएको थियो । उहाँहरुले शर्माको स्मृतिमा एउटा अक्षयकोष स्थापना गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
स्मृति दिवसकै अवसरमा सदरमुकाम कुश्माको लोकतान्त्रिक चोकमा रहेको शहिद गोविन्दनाथ शर्माको शालिकमा पनि माल्यार्पण गरिएको थियो ।  यस अघि आजै विहान पर्वत जेसीजले पनि शहिद शर्माको शालिक नजिकै श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो ।
शहिद शर्मालाई जनआन्दोलनका क्रममा २०६३ वैशाख ८ गते गोलि लागेको थियो भने उहाँको वैशाख १२ गते निधन भएको थियो ।