१२ वैशाख

काठमाडौं : भूकम्पले भत्काएकामध्ये आधा घर पुनर्निर्माण भएका छैनन्। भत्किएका घरको पुनर्निर्माण नहुँदा भूकम्पपीडित टहरामै छन्। सरकारले निजी आवासलाई प्राथमिकता दिएको भन्न छाडेको छैन। भूकम्प गएको चार वर्ष भइसक्दा ८ हजार ३ सय २६ परिवारले मात्रै घर निर्माण सम्पन्न प्रमाणपत्र लिएका छन्।

०७२ वैशाख १२ को भूकम्पबाट ८ लाख २४ हजार ४ सय ५२ घर क्षति भएका थिए। ७ लाख ६२ हजार ३ सय ७ लाभग्राहीले अनुदान सम्झौता गरे। सम्झौतामध्ये ५० प्रतिशत घर निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए। ३ लाख ८२ हजार २ सय ७७ घर परिवारले घर पुुनर्निर्माण सकाएका छन्। उनीहरू नयाँ घर प्रवेश गरिसकेका छन्। ३० प्रतिशत (२ लाख ३० हजार ६५८) घर पुनर्निर्माण क्रममा छन्। जोखिमयुक्त बस्ती ४ हजार घरपरिवारमध्ये आधाजतिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

काठमाडौं वरपरका १४ जिल्ला भूकम्पबाट अति प्रभावित भएका थिए भने १८ जिल्ला कम प्रभावित सूचीमा छन्। प्राधिकरणले पुनर्निर्माण सन्तोषजनक रहेको दाबी गर्दै आएको छ। घर तथा सम्पदाको मौलिकता, संस्कृति, परम्परा जोगाउन रेट्रोफिटिङ गरिए पनि सफल हुन सकेको छैन। सम्पदा पुनर्निर्माण सुस्त छ। विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माण पनि सोचेजस्तो हुन सकेको छैन।

जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका परिवारलााई सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउन काम अझै सकिएको छैन। भूमिहीन, सुकम्बासीलगायतको व्यवस्थापन हुन बाँकी छ। सार्वजनिक, ऐलानी, वन क्षेत्रमा बसिरहेकाको स्थानीय तहमार्फत अभिलेखीकरण गर्ने काम भइरहेको छ। गुनासो सुनुवाइका लागि अन्तिम पटक अवसर दिइएको छ।