अनिसा रेग्मी
वैशाख ७, २०७५
पर्वत : पर्वत र बागलुङ जिल्लाको ऐतिहासिक धार्मिक स्थल कुस्मा नगरपालिका ५ मोदीवेणी दिब्यधाममा रहेको नृसिंह मन्दिरको ढोका तोडेर शालिग्राम शिला चोरी गरेका ४ जना मध्येका मुख्य अभियुक्त अञ्जान बराइली पक्राउ परेका छन् ।
गत फागुन ४ गते राती झन्डै एक बजेको समयमा शिला चोरी गर्ने गिरोहका मुख्य योजनाकार धादिङको साबिक नीलकण्ठ गाविस १० घर भई कुस्मा नगरपालिका ५ बस्ने वर्ष २५ वर्षीय अञ्जन बराइलीलाई पर्वतबाट खटीएको प्रहरीको विशेष टोलीले काठमाण्डौको महाराजगञ्जबाट पक्राउ गरेको हो। टोलीले उनलाई वैशाख २ गते राती नियन्त्रणमा लिएकोमा हिजो जिल्ला अदालत पर्वतमा उपस्थित गराएपछि अदालतको आदेशमा पुर्पक्षको लागी जिल्ला कारागार पर्वत चलान गरिएको छ । चोरीमा संलग्न अन्य ३ जना कसम पुनमगर, सुमन गुरुङ र लेख बहादुर नेपालीलाई प्रहरीले यसअगाडि नै नियन्त्रणमा लिएर सार्वजनिक गरेको थियो ।
पक्राउ परेका बराइली यसअगाडि पनि लागु औषध मुद्दामा फरार रहँदै आएका व्यक्ति हुन् । उनलाई ०७५ माघ २९ गते जिल्ला अदालत पर्वतले २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना गर्ने पैmसला सुनाएको थियो । त्यस लगत्तै बराइली फरार रहँदै आएका थिए । उनीहरुले शिला चोरी गरेपछि कुस्मा नगरपालिका ४ मा रहेको कालीगण्डकी छमर्के सामुदायिक बनमा लुकाएर राखिएको अवस्थामा ३६ थान शालिग्राम शिला फेला पारिएको थियो । उनीहरूले शालिग्राम शिला सहित दान पेटीकामा रहेको ४ हजार रुपैयाँ र शङ्ख पनि चोरी गरेका थिए ।
मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २४२ अनुसार सार्वजनिक स्थल देवालय वा धार्मिक स्थलहरूमा चोरी गर्नेलाई २ देखि ७ वर्षसम्म कैद, २० देखि ७० हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान राखिएको छ ।