संजय रेग्मी
वैशाख ३, २०७५
पर्वत : ‘ठगी’को समाचार लेखेका पोखराको ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको छ । साइबर क्राइम अन्तर्गत मुद्दामा कास्की प्रहरीले सोमबार पक्राउ गरेर गिरीलाई काठमाडौं पठाएको थियो। ‘पोखराका विपेन्द्रराज बतासले ठगी गरेको’ भन्ने समाचार लेखेका गिरीलाई साइबर क्राइम अन्तर्गत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको हो । गिरीलाई सोमबार नेपाल पत्रकार महासंघको रोहोबरमा मंगलबार हाजिर हुने गरी छाडिएको थियो । आज जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको पत्रकार महासंघका महासचिव रमेश विष्टले बताउनुभयो । ‘हिजोदेखि नै लागू हुने गरी अदालतले तीन दिन म्याद थपेको छ,’ विष्टले भन्नुभयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनलाइन दर्ता नै नगरेको भन्दै गिरीलाई पक्राउ गरेको हो । तर गिरीको पत्रिका र अनलाइन प्रेस काउन्सिलमा दर्ता छ ।
यसैबीच, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आज बिज्ञप्ती जारी गर्दै पत्रकारको हात बाँध्ने र मुख थुन्नेगरि ल्याइएको विद्युतीय कारोबार ऐन को दफा ४७ र ४८ खारेजका लागि आवाज बुलन्द गर्न सबै समक्ष अनुरोध गरेको छ । समितिका महासचिव गणेश पौडलद्धारा हस्ताक्षरित बिज्ञप्तीमा समाचार लेखेकै आधारमा पटकपटक विद्युतीय कारोबार ऐन प्रयोग गरेर पत्रकार पक्राउ गरि मानसिक यातना दिने काम तत्काल रोक्न सरकार समक्ष नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति जोडदार माग गर्दछ । भनिएको छ । बिज्ञप्तीमा गण्डकी प्रदेश भित्रका पत्रकार महासंघका शाखा कार्यालयहरुले जिल्लामा अनुकुल हुने गरी जिल्ला प्रशासन वा जिल्ला प्रहरी कार्यालयमा धर्ना सहित बिरोधका कार्यक्रमहरु संचालन गर्न पनि अनुरोध गरिएको छ । महासचिव पौडेलले समाचार लेखेकै आधारमा पत्रकारमाथि साईबर क्राईममा मुद्धा दायर गरेर पक्राउ गरिनु निन्दनीय भएको बताउँदै पक्राउ पर्नुभएका पत्रकार गिरीलाई यथाशिघ्र रिहाई गर्न पनि माग गर्नुभएको छ ।