वैशाख ३
खोटाङ : नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको पार्टीलाई सरकारले प्रतिबन्ध लगाएसंगै प्रहरीले बिप्लव नेतृत्वका नेता र कार्यकर्तालाई धमाधम पक्राउ गरिरहेको छ । गृह मन्त्रालयका अनुसार हरेक दिनजसो बिप्लवका कोही न कोही नेता र कार्यकर्ता पक्राउ गरिरहेका छन् ।

यही क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक कार्यक्रता खोटाङबाट पक्राउ परेका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ घर भएका सुदिप शर्मा भनेर चिनिने चक्र बहादुर खत्री पक्राउ परेका हुन् । जिल्लाको आर्थिक विभागको प्रमुखको जिम्मेवारीमा रहेर काम गर्दै आएका खत्रीलाई हलेसी बजारबाट ईलाका प्रहरी चौकी हलेसीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

विप्लव समुहलाई सरकारले प्रतिबन्ध लगाउनुअघि खत्रीले विभिन्न समयमा चन्दा आतंक मच्चाएको र हालपनि त्यस्ता गतिविधिमा लुकिछिपी लागिरहेको विशेष सूचनाको आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल कम्यूनिष्ट पार्टीको जिल्ला सदस्य समेत रहेका खत्रीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर कानुन बमोजिम कारवाही प्रकृया अघि बढाईने प्रहरीले बताएको छ ।