१ वैशाख

काठमाडौं । सरकारले पृथकतावादी आन्दोलन त्यागेको दाबी गरेको जनमत पार्टीका अध्यक्ष सीके राउत तराईमा जनमत संग्रहको माहोल बनाउन लागेका छन् । गत फागुन २४ गते सरकारसँग ११ बुँदे सम्झौता गरेर मूलधारको राजनीतिका प्रवृष्ट भएका सीके राउतले वर्षान्तका दिन पूर्वी तराई सिरहाको मिर्चैयामा आमसभाको आयोजना गरेर सरकार जनमत संग्रहका लागि तयार भएको बताए ।

“हामीले जनमत संग्रहको माग गरिरहेका थियौँ,” उनले मिर्चैयामा आयोजित सभामा स्पष्ट भाषामा भने, “सरकारले दशौं गुणा ज्यादा दियो । जनअभिमतमा जनमत संग्रह पनि आउँछ । सडक संघर्ष पनि आउँछ ।” उनले स्वराज आन्दोलनका क्रममा जनमत संग्रहको नारा लिएर घरघर हिँडेको र सरकारले जनअभिमतमार्फत् पूरा गरिदिएकाले जनमत पार्टीको जित भएको तर्क गरे ।

उनले जनमतमार्फत् तराई–मधेसी जनताले मुक्ति पाउनेसमेत विश्वास व्यक्त गरे । “११ बुँदे सम्झौता मधेस, मधेसीको ऐतिहासिक जित हो, यस्तो विजय कहिल्यै हासिल भएको थिएन,” उनले भने । उनले यो जित आगामी दिनमा पुष्टि हुँदै जाने र अहिले नै हतार गर्न नहुने तर्क पनि गरे ।

विपक्षी पार्टीले एकदिनमै सम्झौता गरेर सीके राउत सरकारसँग गलेको भन्ने प्रचारको खण्डन गरे । “एक दिनमै सम्झौता भयो भनेर प्रचार गरिँदैछ, तर हामीले दश महिनाभन्दा लामो समय गृहकार्य गर्नुप¥यो, दर्जनौँ पटक बैठक बस्नुप¥यो, छलफल गर्नुप¥यो । सम्झौता गर्न सरकारलाई पनि दुई महिना ज्यादा समय लागेको छ, एकछिनमा भन्न मिल्छ ?,” उनको प्रश्न थियो ।

जनमत संग्रहको नारा लिएर जनताको घर–दैलोमा पुग्दा जनताले ‘तपाईंहरूको चुनाव चिह्न के हो’ भनेर सोधेकाले पार्टी गठन गर्नुपरेको बताए । “जनता र जनआकांक्षाको सम्मान गर्दै उनीहरूको सपना पूरा गर्न पार्टी लिएर आएका छौँ,” उनले भने ।

डा. राउतले हिजो सामान्य ¥याली निकाल्दा पनि दमन गर्ने, जेल चलान गर्ने सरकारले आज आमसभामा सुरक्षा दिन थालेको भन्दै यसलाई पनि मधेसको जितको रूपमा अथ्र्याउनुपर्ने बताए ।

जनमत पार्टी गठनयता सीके राउत मौन थिए । सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । आमसभामार्फत् सार्वजनिक भएका सीके राउतले समकालीन मधेसी दलहरूप्रति निकै आक्रोश पोखे । “कति दलहरूको ठेकेदारी, दोकान बन्द हुन लागेकाले जनमत पार्टीको विरोध गरिरहेका छन्,” उनको आक्रोश थियो ।

उनले मलेठ घटनामा पनि मधेसी दलहरू सत्ताबाट फिर्ता नभएको तर मधेस आएर मधेसीलाई उचालेको दृष्टान्त दिँदै तराईबासीको मुक्तिको चाहना कसैको नभएको जिकिर गरे । “कोही पनि मधेसका नेता मधेसीका लागि जेल बसेका छैनन्, कांग्रेस, नेकपाका लागि बसेका होलान्,” उनको भनाइ थियो ।

पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहले तराई–मधेसका विभिन्न जिल्लामा आमसभा गरिने दाबी गरे । “पार्टी गठनलगत्तै तराई–मधेसका विभिन्न जिल्लामा आमसभाका तयारी गरेका थियौँ । हिजो मिर्चैयामा भयो । क्रमशः अन्य जिल्लामा पनि आमसभा हुन्छन्,” उनको भनाइ थियो ।