संजय रेग्मी
वैशाख १, २०७६
पर्वत : नयाँ बर्ष २०७६ सालको अवसरमा पर्वतको कुश्मामा रहेको नवदुर्गा लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुभकामना आदानप्रदान तथा चियापान समारोह सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष गोविन्द अधिकारीले दिनुभएको जानकारी अनुसार सहकारीका शेयर सदस्यहरुका बीचमा नयाँ बर्ष उल्लासमय बन्न सकोस भनी एक अर्कामा कामना गर्दै शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले श्रम र सीपको उपयोग गरेर उत्पादन बढाउन चाहेर पनि आर्थिक अभावमा रहेकाहरुलाई सहकारीले ऋण सहयोग गर्दै आएको बताउनुभयो । साना पुँजीलाई एकीकृत गरेर निश्चित ठाउँमा दिँदा सानो परिमाणका लगानी बिहीन भएर बसेको पैसाले उत्पादन दिने उहाँको भनाई छ । अधिकारीले सहकारीले महिला, दलित, गरिब र पछाडि परेकाहरुलाई आर्थिक हित हुने गरी काम गरिरहेको उल्लेख गर्नुभयो । यस्तै, लेखा संयोजक राम शर्मा लामिछानेले लेखा प्रणालीलाई सहकारीको माध्यमबाट चुस्त दुरुस्त राख्नुपर्ने धारणा राख्नुभयो । आर्थिक समृद्धि नभएसम्म व्यक्तिले प्रगति गर्न नसक्ने र ब्यक्ति नै कमजोर भएमा समाजको उन्नति नहुने भएकाले देश र समाजको विकासको लागि आर्थिक समृद्धि आधार तत्व रहेको लामिछानेको भनाई छ । शुभकामना आदानप्रदान कार्यक्रममा सहकारीका सल्लाहकार लक्ष्मीप्रसाद सापकोटा, रघुनाथ अधिकारी, शेरबहादुर सुनार (जितबहादुर), कोषाध्यक्ष लक्ष्मी अधिकारी, शेयर सदस्य बिष्णुप्रसाद लामिछाने लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । नवदुर्गा सहकारी संस्था २०६७ सालमा कुश्माबजारमा संचालनमा आएको हो । उक्त सहकारीले पर्वत जिल्लामा नै पहिलो पटक अपांगता भएका व्यक्तिहरुको लागि निशुल्क रुपमा खाता संचालन गरेको थियो । त्यस बाहेक महिलाहरुका लागि तीज बिशेष खाता, बाल बचत लगायतका कामहरु पनि गर्दै आएको छ ।