२६ चैत

पोखरा- पोखरामा एक व्यापारी मृत भेटिएका छन् । पोखरा महानगरपालिका वडा नं ८ जाल्पा रोडका ४५ वर्षीय चन्दन गिरी मृत भेटिएका हुन् ।

गिरीले पोखरा जाल्पारोड स्थित आफ्नै निवासको माथिल्लो तल्लाको कोठामा सिलिङ पंखामा सलको पासो लगाएर आत्महत्या गरेको प्रहरी जनाएको छ।

उनी २ दशकदेखि पोखरामा रहेर रियलस्टेट, हाउजिङलगायतका व्यवसायमा संलग्न रहदै आएका थिए । उनी पोखराका पुराना र स्थापित व्यवसायीमा गनिन्थे ।

मंगलवार बिहान करीब ९ बजेतिर घरमा कोही नभएको अवस्थामा कोठा बन्द गरी उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।

शवको मुचुल्का गरी अहिले पोष्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।