२६ चैत्र
पर्वत–पर्वतको फलेवास नगरपालिका २ थापाठाना खनारका ३० बर्षिय मदन नेपालीले आप-नै श्रीमती ३३ बर्षिय मुना नेपालीलाई आइतबार राति मरणासन्न हुने गरी कुटपिट गरेका छन् । आइतबार विहान घरमा नै नव शिशु (छोरा) लाई जन्म दिएकी मुनालाई राति ९ बजेको समयमा मदनले चिर्पट प्रहार गरेर घाइते बनाएका हुन् ।
आइतबार राती नै छिमेकीको सहयोगमा घाइते मुनालाई जिल्ला अस्पतालमा पर्वतमा सामान्य उपचार पश्चात् थप उपचारका लागि सोमबार दिउँसो पोखरा पठाइएको छ । उनको टाउकोमा गहिरो चोट रहेको र ३१ वटा टाँका मारिएको उपचारमा संलग्न स्वास्थ्यकर्मी जानकी शर्माले बताउनुभयो ।
मदनले मदिराको नशामा सुत्केरी श्रीमती माथि हातपात गरेका हुन् । रक्सीले मात्तिदै घरमा आएको र एक्कासी आफुमाथि हातपात गरेको पिडित महिला मुनाले बताउनुभयो । घटनाको बारेमा छिमेकीले तत्कालै थाहा पाएका कारण छिमेकीको सहयोगमा मात्रै आफु बँचेको पिडित महिलाले बताउनुभयो ।
छिमेकीकै सहयोगमा प्रहरीले जानकारी पाएपछि फलेवास नगरपालिका १ कार्कीनेटा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मदनलाई आइतबार राति नै नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका मदन अहिले पर्वत जिल्ला प्रहरी कार्यालयमा हिरासतमा रहेका छन् । पिडितबाट लिखित रुपमा उजुरी नआइसकेकोले कानुनी प्रक्रिया अघि बढाउन नसकिएको र आफन्तहरु सँग सम्पर्क भइरहेको प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।
पिडित महिलाको माइत पक्षका आफन्तहरु कोही नभएका कारण छिमेकी युवा दिपेन्द्र कुँवर लगायतका व्यक्तिहरुले उनलाई अस्पतालमा सहयोग गरिरहेका छन् । मजदुरी गरेर खाने परिवारका भएका कारण आफुहरुसँग उपचारका लागि आवश्यक रकम समेत नभएका कारण सहयोगी मन सँग आवश्यक सहयोग गरिदिन उहाँले आग्रह गर्नुभयो ।