चैत २४

जनकपुर । हत्या गरेको आशंकामा महोत्तरी प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । शनिबार उनीहरुलाई महोत्तरीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । तर उनीहरुको पहिचान भने खुलाइएको छैन ।

पक्राउ परेका तीनैजनालाई हाल इलाका प्रहरी कार्यालय गौशालामा राखिएको छ । महोत्तरीको सोनमा गाउपालिका–२ मा शुक्रबार एक युवतीको शव फेला परेको थियो । सो शवको अहिले सनाखत समेत भइसकेको छ ।

फेला परेको सो शव गौशाला नगरपालिका ८ का श्रवन महतोकी २१ वर्षीया छोरी उषाकुमारी महतोको रहेको जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ । सोनमा गाउँपालिका(२ सिंहासनी जानेबाटोको पूर्व मरहा खोलाको किनारमा रहेको राहर खेतमा हत्या गरेको अवस्थामा शुक्रबार दिउँसो १ बजे शव फेला परेको थियो ।

शवको प्रकृति हेर्दा बलात्कार पश्चात हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । यद्यपि पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको एसपी इश्वर कार्कीले बताए । हत्याका सम्बन्धमा हाल अनुसनधान भइरहेको प्रहरीले बताएको छ ।