२३ चैत्र

काठमाडौं शनिबारका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

पार्टीको केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

शीर्ष नेताहरुबीच व्यापक सहमति खोजेर केन्द्रिय कार्य सम्पादन समिति गठन गर्न सभापति शेरबहादुर देउवाले बैठक स्थगित गरेको पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादवले बताए ।

सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार केन्द्रिय कार्य सम्पादन समिति गठनका विषयमा सहमति जुटेको बताए पनि सो सहमतिमा नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाएका थिए ।

कांग्रेसको नयाँ विधानमा २८ वटा विभागहरु गठन गर्ने व्यवस्था गरिएको छ । तर सभापति देउवाले ती विभागहरु गठन गर्न नसकेको वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्षको आरोप छ ।