२३ चैत्र

काठमाडौं । नेपाली काँग्रेसभित्रको आन्तरिक कलह चरम उत्कर्षमा पुगेको छ । यो उत्कर्षले अबका दिनमा कुन रुप लिने हो भन्ने टुंगो छैन ।

गुट उपगुट मजबुद हुँदै गर्दा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री डा शशांक कोइरालाबीचको तिक्तता पनि बढ्दै गइरहेको छ ।

देउवाले कोइराला परिवारबाटै आफूले काम गर्न नपाएको आरोप लगाएका छन् । सोही आरोपलाई खण्डन गर्दै डा शशांकले भने, ‘देउवालाई देउवा बनाउने बीपी र गिरिजाबाबुले हो । अहिले आएर काम नगर्ने अनि हामीहरुलाई दोष लगाउने ?’

आफूले काम गर्न नसकेको दोष अरुलाई दिन नहुने भन्दै डा कोइरालाले आफू पार्टीको सेकेन्ड म्यान भएको र देउवाले आफै काम गर्न नसकेको आरोप लगाए ।

बीपी कोइराला पुत्र डा शशांकले आफू अबको सभापतिको दावेदार भएको भन्दै आफू अगाडि बढेपछि देउवामा छट्पटी भइरहेको हुन सक्ने आरोपसमेत लगाएका छन् ।

उनले भने, ‘सन्दाजु, गिरिजाबाबु, शुशील दा सबै कोइरालाले नै देउवालाई बनाएका हुन् । अहिले आएर कोइरालालाई नै गाली गर्ने ? पहिले आफ्नो हैसियत हेर्नुपर्यो नि ।’

देउवाले विभिन्न सार्वजनिक कार्यक्रममा कोइराला परिवार (डा शशांक कोइराला, डा शेखर कोइराला र सुजाता कोइराला) ले काम गर्न नदिएको बताउँदै आएका छन् ।

शशांकले पार्टी लिगेसीमा चल्न नहुने र आफू बिपीको छोरो भएकै नाताले पार्टीमा दावेदारी खोज्ने व्यक्ति नभएको पनि बताएका छन् ।