२२ चैत्र
चितवन, चितवनको भरतपुर महानगरपालिका–१८ शशिनगरमा एक महिला र उनका दुई सन्तानको शव घर भित्रै झुण्डिएको अवस्थामा फेला परेको छ । ३४ वर्षिया माया मगर, उनकी १५ वर्षिया छोरी विनिता र १३ वर्षिय छोरा विवशको शव भरतपुरको शशीनगरस्थित घर भित्रै झुण्डिएको अवस्थामा फेला परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।

प्रहरीलाई बिहान स्थानीयले घटनाबारे जानकारी गराएका थिए । सेनामा जागिरे श्रीमान विदामा घर आएका समय परिवारका तीन जनाले आत्महत्या गरेको डिएसपी रेग्मीको भनाई छ । उनका श्रीमान नर वहादूर आलेमगर नेपाल आर्मीमा काठमाडौंमा कार्यरत रहेका छन् । घटनाको अवस्था हेर्दा आत्महत्या नै गरेको देखिने भएपनि अनुसन्धान भैरहेको डिएसपी रेग्मीले बताउनुभयो ।

ढोकाको आग्लो लगाएकै अवस्थामा बाहिरबाट भित्र जाने अन्य बाटो नदेखिएको प्रहरीले उल्लेख गरेको छ । थप विवरणहरु केलाउँदै अनुसन्धानकै क्रममा रहेको’ डिएसपी रेग्मीको भनाई छ । घटनास्थल भरतपुरदेखि झण्डै १० किलो मिटर पश्चिममा पर्छ ।