संजय रेग्मी
चैत २०, २०७५
पर्वत : पर्वतको महाशिला गाउँपालिकाको कार्यालय र ६ ओटा वडा कार्यलयहरुमा लागेको तालाबन्दी बुधबार सँझबाट खुलाईएको छ।
गाउँपालिकाकी उपप्रमुख हिरा राना, जिल्ला समन्वय समिति सदस्य बिष्णुराम बि.क, प्रमुख प्रशासकिय अधिकृत किसानबहादुर क्षेत्री र आन्दोलनरत काँग्रेसका प्रतिनिधिहरुकोबीचमा भएको छलफलमा सहमति जुटेपछि तालाबन्दी खुलाईएको हो। छलफलका क्रममा छलफलमा सहभागी भएका गाउँपालिका उपप्रमुख हिरा राना, जिल्ला समन्वय समिति सदस्य बिष्णुराम बि.क, प्रमुख प्रशासकिय अधिकृत किसानबहादुर क्षेत्रीले काँग्रेसले उठाएका मागहरुलाई शीघ्र कार्यपालिकाको बैठक डाकेर सोही बैठकमा प्रस्तुत गर्ने जिम्मा लिएपछि आँपूmहरुले लगाएको ताला खुलाईएको महाशिलाका काँग्रेस नेता उज्वल गुरुङले जानकारी दिए।
छलफलमा आगामी दिनमा काँग्रेसलाई पनि पालिकादेखि वडासम्मका छलफल र क्रियाकलापमा सहभागी गराउने पनि सहमति भएको छ। गाउँपालिकाले गर्दै आएका कामहरुमा नेपाली काँग्रेसलाई वेवास्ता गरी सहभागी नगराईएको, नेकपाका कार्यकर्ताहरुलाई सहयोग हुने गरी मात्र गाउँपालिकाले कामहरु गरिरहेको लगायतका आरोप लगाउँदै काँग्रेसले सोमबार गाउँपालिकाको कार्यालयमा र मंगलबार गाउँपालिकाभित्रका ६ ओटै वडा कार्यालयहरुमा तालाबन्दी गरेको थियो ।
तालाबन्दीबाट स्थानीय सेवाग्राही समस्यामा परेका थिए भने गाउँपालिकाले पनि तालाबन्दी नखुलाए काँग्रेसका बिरुद्धमा कानुनी उपचार खोज्ने चेतावनी दिएको थियो।